Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयुवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर

युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर


बझाड.
गाउँघरमा नै रोजगारीको सिर्जना नहुँदा अधिकांश ग्रामीण क्षेत्रहरू युवाविहीन अवस्थामा पुगेका छन् । चाडपर्वमा बाहेक अरु बेला गाउँमा युवाहरू देखिन मुस्किल देखिन्छ । सुदुरपश्चिमका गाँउघरहरूमा यतिवेला वृद्धाआश्रमजस्तो देखिन थालेको छ । गाउँघरमा रोजगारी नहुँदा युवाहरू रोजगारीको लागि विदेशिनु पर्ने र गाउँमा राम्रो शिक्षादिक्षा नहुँदा उनीहरूको श्रीमती र छोराछोरी सहर पस्ने गर्दा गाउँमा बुढापाका मात्रै बस्न बाध्य छन् । यहाँका गाउँघरबाट युवाहरू आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर महिला, बालबालिका तथा वृद्धका भरमा रहेका छन् ।

गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दा पर्दासमेत मलामी जाने मान्छे पनि नहुँने अवस्था भएको दुर्गाथली गाउँपालिकाका स्थानीय दोरेन्द्र खड्काले बताए । यसवर्ष भने कोरोना महामारीका कारण आधा विश्न नै लकडाउनमा परेको कारण केही लामो समय गाउँघरमा राम्रै चहलपहल थियो । लकडाउनले गर्दा सहर क्षेत्रमा बस्ने तथा विदेशमा भएका मानिसहरू गाँउघर फर्केका थिए । तर लकडाउनको अन्त्य र दशैँ तिहारजस्ता चाडपर्वको समाप्तीसँगै गाँउ क्षेत्रका युवाहरू फेरि आफ्नो कर्मक्षेत्रमा फर्किन सुरु गरेको बाजुराका गोरख शाहीले बताए । उनले भने– ‘परदेश गएकाहरू फर्किएर गाँउघर आउँदा गाउँमा रमाइलो थियो, अहिले उनीहरू फर्किन थालेपछि यहाँका गाउँघर प्रायः सुनसान हुन थालेका छन् ।’

गाउँमा सबैै युवा बेरोजगार हुन थालेपछि गाउँघर छोडेर प्रदेशी जीवन बिताउन बाध्य हुनुपरेको बझाङका ज्ञानेन्द्र सिंह बताउँछन् । उनी १३ वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा छन् । भारतमा गएर नकमाए घरपरिवारको छाक टार्न मुस्किल हुने उनी बताउँछन् । उनी त सुदूरपश्चिमका लागि एक पात्र मात्र हुन्, उनीजस्ता हजारौँ युवाको समस्या उनको जस्तै छ । रोजगारीको लागि दैनिक एक हजार पाँच सय जनाको हाराहारीमा मानिसहरू गौरी फन्टा नाकाबाट मात्र बाहिरिने गरेको सिमा त्रिनगर नाका गौरीफन्टाका प्रहरी सशस्त्र बलका प्रहरी नायक निरीक्षक पुप्पराज शर्मा जानकारी दिए ।

सुदूरपश्चिमकाका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेलधुरा, दार्जुला, कैलालीमा मुख्य नाकाको रपमा रहेको गौरीफन्टा, झुलाघाट, बनमासलगायतका मुख्य नाकाबाट भारत जानेको संख्या बढ्दो रहेको यातायातका इन्चार्ज जीवन खड्काले बताए । दैनिक नेपाल छाड्नेका संख्यामा वृद्धिसँगै यातायातका साधन भरिभराउ हुँदा कयौँ यात्रुहरूले सास्ती समेत भोग्नु परेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया