Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबैंकबाट प्रतिव्यक्ति अधिकतम ५० लाख अधिविकर्ष कर्जा प्रवाह गर्न पाउने व्यवस्था गर्न माग

बैंकबाट प्रतिव्यक्ति अधिकतम ५० लाख अधिविकर्ष कर्जा प्रवाह गर्न पाउने व्यवस्था गर्न माग


काठमाडौं ।
नेपाल उद्योग परिसंघले बैंकबाट प्रतिव्यक्ति अधिकतम ५० लाख रुपैयाँ अधिविकर्ष कर्जा प्रवाह गर्न पाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । परिसंघका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी सेयरको धितोमा कर्जा प्रवाह, अधिविकर्ष कर्जा र कर्जाको अग्रिम भुक्तानी शुल्कका सम्बन्धमा छलफल गरेको थियो ।

परिसंघले अधिविकर्ष कर्जाको सम्बन्धमा पूर्ववत् एक बैंकबाट प्रतिव्यक्ति अधिकतम ५० लाख रुपैयाँ अधिविकर्ष कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिनुपर्ने परिसंघले माग गरेको छ । यस्तै सेयरको धितोमा कर्जा प्रवाहमा हाल भएको व्यवस्थाले जलविद्युत्लगायतका भौतिक पूर्वाधारका योजनाहरु तथा सार्वजनिक निजी साझेदारीको लगानीमा बन्ने पूर्वाधारका योजनाको लगानी प्रभावित हुने परिसंघको धारणा रहेको छ ।

त्यसैगरी कर्जा अग्रिम भुक्तानीको शुल्क समेत धेरै भएकोले घटाइनुपर्ने धारणा राख्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले कर्जाग्राहीले स्वपुँजी वा व्यवसायबाट आर्जित नाफा वा नगद प्रवाहबाट कर्जा अग्रिम भुक्तान गर्न नपाउनु व्यावसायिक सिद्धान्तको विपरीत भएकोले सो कर्जा भुक्तान गर्न दिइनुपर्ने माग गरे । छलफलको क्रममा कर्जा स्वाप शुल्क बढी भएकोले सो शुल्क घटाउनुपर्ने, २ वर्ष लगातार घाटामा रहेका उद्योगहरुलाई सूक्ष्म निगरानीमा राखी कर्जामा थप प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाले घाटामा सञ्चालनमा रहेका उद्योगलाई थप मर्का पर्ने भएकोले सो समयलाई ५ वर्ष लगातार घाटामा रहे प्रोभिजनिङ गर्ने व्यवस्था गर्दा उद्योगहरुलाई सहज हुने धारणा राखे ।

त्यसैगरी पुनर्कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ भएकोले ठूला उद्योग तथा व्यवसायलाई राहत नहुने भएकोले सो सीमालाई बढाउन माग गर्दै उनले पुनर्कर्जा प्रवाहको प्रक्रियागत कठिनाइ रहेकोले धेरै उद्योगहरुले सो सुविधा उपभोग गर्न नपाइरहेको वा अत्यन्त ढिलाइ भइरहेकोले सो प्रक्रियालाई सरलीकृत गरिनुपर्ने बताए ।

त्यसैगरी एकीकृत निर्देशन, २०७७ मा कर्जा/सापटको वर्गाीकरण र कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाअनुसार कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्थामा सञ्चालकको निजी सम्पत्ति कर्जा धितो राख्दा थप प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाले कम्पनी वा व्यवसायलाई कर्जा प्राप्तिको लागि मर्का परिरहेकोले आवश्यकताअनुसार सञ्चालकको पहिचानका अन्य उपायहरु अवलम्बन गरी कम्पनीलाई आवश्यक ऋण प्राप्तिका लागि निजी सम्पत्ति धितो राख्दा प्रोभिजनिङ गर्नु नपर्ने व्यवस्था मिलाउन परिसंघले माग गरेको छ ।

विदेशी विनिमय सम्बन्धमा विदेशी परामर्श सेवाबापत हुने भुक्तानीलाई १० हजार अमेरिकी डलर वा सोसरह भारतीय रुपैयाँ गरिनुपर्ने, टीटीमार्फतको भुक्तानीलाई ४० हजार अमेरिकी डलर गरिनुपर्ने र पासपोर्टमा सटही सुविधा २ हजार ५ सय अमेरिकी डलर गरिनुपर्ने परिसंघको माग रहेको छ ।

यस्तै परिसंघले राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी हायर पर्चेज कर्जा प्रदान गर्ने संस्थालाई कर्जा सूचना केन्द्रको सदस्यता प्रदान गर्नुपर्ने माग गर्दै हायर पर्चेज कर्जा प्रवाह गर्ने संस्थाहरु संलग्न नभएमा विभिन्न वाणिज्य बैंकहरुबाट यस्तो क्षेत्रमा गरेको लगानी तथा यस्ता संस्थाहरुले जारी गरेको कर्जाको सुरक्षामा जोखिम बढ्नसक्नेतर्फ ध्यान पु-याउन माग गरेको छ । परिसंघले विदेशी मुद्रामा भारतबाट आयात गर्न पाउने वस्तुको सूचीमा थप १० वस्तुहरु समेत थप गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।

छलफलमा राष्ट्र बैंकका गभर्नर अधिकारीले निजी क्षेत्रबाट प्राप्त सुझावहरुलाई सकारात्मक रुपमा लिई सकेसम्म निजी क्षेत्रको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्र बैंकले ८५ अर्बको रि–फाइनान्सको व्यवस्था गरे पनि १० अर्ब पनि नगइसकेको अवस्था रहेकोले उद्योगी व्यवसायीलाई यसको लाभ लिन परिसंघले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । उद्योगमा विदेशी दक्ष कामदार ल्याउँदा पूर्वस्वीकृति लिएर गर्नुपर्ने धारणा राख्दै नीतिगत विषयमा नेपाल राष्ट्र बैंक र निजी क्षेत्रको अवधारणा फरक देखिए पनि उद्योग व्यवसाय प्रवद्र्धन गर्न निजी क्षेत्रका मागलाई सकेसम्म सम्बोधन गर्दै जाने बताए ।

त्यसैगरी नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग र परिसंघको अनुसन्धान सेलबीचमा सहकार्य गर्ने सम्बन्धमा सम्भावित क्षेत्रहरु पहिचान गरी आगामी दिनमा छलफल गर्ने बताए । छलफलमा परिसंघको तर्फबाट परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु क्रमशः निर्वाण चौधरी, सुलभ अग्रवाल र बैंकिङ्ग समितिका संयोजक अनलराज भट्टराइको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया