Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअदालतमा पुग्योे सुप विश्वविद्यालय प्राध्यापक संघको विवाद

अदालतमा पुग्योे सुप विश्वविद्यालय प्राध्यापक संघको विवाद


कञ्चनपुर ।
स्थापनाकालदेखि नै विवादित अवस्थामा गठन भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघको विवाद अन्ततः अदालतमा पुगेको छ । करिब दुई वर्षअघि सूप विश्वविद्यालयका प्राध्यापकद्वय उत्तमबहादुर थापा र वीरबहादुर सिंह (ठकुरी)को नेतृत्वमा दुईवटा प्राध्यापक संघ गठन भएका थिए । दुईवटा संघ गठनपछि कुन आधिकारिक संघ हो भन्नेमा अझै अन्यौल छ, दुवैले आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् । तर यो विषय अहिले आदालतमा प्रवेश गरेको छ ।

प्राध्यापक कर्णदेव भट्टले उत्तम थापा नेतृत्वको प्राध्यापक संघ अवैध भएको भन्दै गत मंसिर अन्तिम साता उच्च आदालत दिपायल महेन्द्रनगर इजलासमा ‘उत्प्रेषण, निषेधाज्ञा, परमादेशका लागि रिट दायर गरेका थिए । प्राध्यापक भट्टले दायर गरेको रिटमा न्यायाधीशद्वय तेजबहादुर कार्की र राकेशकुमार निधीको संयुक्त इजलासले विपक्षी थापा नेतृत्वको प्राध्यापक संघका नाममा अन्तरिम आदेश दिएको छ ।

मंगलबार उच्च अदालत दिपायल महेन्द्रनगरका न्यायाधीशद्वय कार्की र निधीले दिएको आदेशमा थापा नेतृत्वको प्राध्यापक संघ र विश्वविद्यालय कार्यकारी परिषद्लाई विपक्षी ५ र ६ ले आफू अमुक कानुन ऐनबमोजिम सूप विश्वविद्यालयको प्राध्यापक संघको समितिमा निर्वाचित भई सभापति चयन भएको भनी छलफलको क्रममा उपस्थिति नभई जिकिर राख्न नसकेको र मिसिल संलग्न कागजातबाट समेत हालको स्थितिमा उक्त तथ्य स्थापित हुन नसकेको नदेखिँदा सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको टुङ्गो नलागेसम्म विपक्षीले विश्वविद्यालयको सभामा प्रतिनिधित्व नगर्नु र सभामा प्रतिनिधित्व नगराउनु उच्च आदालत नियमावली ०७३ को नियम ४२(१) बमोजिम अन्तरिक आदेश दिएको उल्लेख छ ।

सुदूरपञ्चिमाञ्चल विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली २०६९ को नियम १७९(२) बमोजिम सूप विश्वविद्यालयको प्राध्यापक संघको गठन तोकिएबमोजिम हुने भए पनि विपक्षीले ५ र ६ आफू अमुक कानुन एैनबमोजिम समिति चयन गरेको रिटमा उल्लेख गरिएको छ । रिटकर्ताका तर्फबाट प्राध्यापक कर्णदेव भट्टले प्राज्ञिक थलोमा अवैध र गैरकानुनीरूपमा गठन भएका संस्थाले विश्वविद्यालय धराशायी भइरहेकाले बाध्य भएर कानुनको सहायता लिन आदालत पुगेको बताए ।

‘न्यायालयले जे गर्छ, अब त्यहीँबाटै फैसला हुन्छ, ‘उनले भने– ‘गलतका विरुद्ध लड्दालड्दै सकिएन, आदालतमा पुगेका छौँ ।’ मुद्दामा विपक्षी बनाइएका सूप विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले आदालतमा विषय प्रवेश गरेकाले आफूले त्यसमा केही प्रतिक्रिया दिनुभन्दा पनि आदालतको अन्तिम निर्णय सबैले मान्नुपर्नेमा जोड दिए ।

‘यो अन्तिम टुङ्गो होइन’, उनले भने– ‘अन्तरिम आदेश मात्रै हो, भोलि न्यायालयले जे फैसला गर्छ सबैले स्वीकार गर्नुपर्ला ।’ प्राध्यापक संघको ऐन, नियमअनुरूप संघ गठन भएको बताउँदै उनले अनावश्यक हल्ला नगर्न आग्रह गरे । ‘केही साथीहरूलाई चित्त नबुझेर लहलहैमा लागेर आदालत गए, ‘उनले भने, ‘आदालत हाम्रो पक्ष छ ।’

सूप विश्वविद्यालय केन्द्रीय कार्यालयका प्रवक्ता गोविन्द वल्लव पन्तले ३ पुसमा सम्पन्न भएको विश्वविद्यालय सभामा थापा नेतृत्वको प्राध्यापक संघलाई सहभागी रोक्नका लागि रिट दायर गरिएको बताउँदै सभा बसेपछि आएको आदेश आगामी दिनका लागि भएको बताए । प्राध्यापक भट्टका तर्फबाट अधिवक्ताद्वय धर्मानन्द जोशी र कृष्णदत्त जोशीले बहस गरेका थिए । सूप विश्वविद्यालयमा प्राध्यापकबीच संघ गठनको विषयमा पहिलेदेखि नै चल्दै आएको विवाद ढिलै भए पनि आदालत प्रवेश गरेको छ । पद र संगठनका लागि प्राध्याकबाटै विश्वविद्यालय धराशायी बन्दै गएको नागरिक समाजको चिन्ता छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया