Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराजस्व नबुझाई खोला उत्खनन

राजस्व नबुझाई खोला उत्खनन

क्रसर उद्योगीको मनोमानी बढ्दै


धनुषा ।
क्रसर उद्योग सञ्चालकले मनोमानी ढंगले नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम दिन प्रतिदिन बढ्दै जाँदा वातावरण संरक्षणमा चुनौती थपिएको छ भने नदीजन्य विपत्का घटना समेत बढ्न गएको छ । धनुषामा सञ्चालनमा रहेको कतिपय क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगले राजस्व नबुझाई खोला उत्खनन गर्ने गरेकाले राजस्व असुलीमा समेत असर परेको छ ।

अहिले सम्बन्धित स्थानीय तहले नै खोला उत्खननको ठेक्का लगाउने गरे पनि कतिपय नगरपालिकाले राजस्व समेत नबुझी उत्खनन गर्ने जिम्मा ठेकेदारलाई दिनेगरेको पाइएको छ । राजस्व नबुझी ठेकेदारलाई उत्खननका लागि खोला जिम्मा लगाउँदा मिथिला नगरपालिकाका नदीहरूको प्राकृतिक बहाव खल्बलिनुको साथै अनेक वातावरणीय समस्या देखापरेको छ ।

जय बजरंग बालुवा प्रशोधन उद्योगका सञ्चालक बेचन ठाकुरले आर्थिक वर्ष २०७६/७७ मा मिथिला नगरपालिकाअन्तर्गत पर्ने छवटा खोला उत्खनन गर्न ठेक्का पाए पनि उनले राजस्व नै नबुझाई खोला उत्खनन गर्दै आएको पाइएको छ । खोला उत्खनन गर्न सम्झौता भएपछि नदीजन्य पदार्थ निकासीका लागि रसिद लिनुअघि कुल राजस्वको ६० प्रतिशत रकम तत्कालै बुझाउनुपर्ने प्रावधान छ । ठेक्का स्वीकार गरिसकेका ठाकुरले रकम नबुझाई उत्खनन गर्ने गरेको बताइएको छ । ठाकुरले मिथिला नगरपालिकाअन्तर्गत पर्ने रातु, बडहरी, जलाद, औरही, जग्धर र बसही खोला उत्खननको लागि ठेक्का सम्झौता गरेका छन् ।

उनले उत्खननबापतको राजस्व तिर्न आलटाल गरिरहेका छन् । यता राजस्व दाखिला नगरी उत्खनन थाले पनि नगरपालिका पनि मौन देखिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ६९ लाख ९३ हजार एक सय ९५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न चार करोड ५१ लाख ५१ हजार एक रूपैयाँमा ठेक्का लगाएको छ । यसबापतको पहिलो किस्ता ६० प्रतिशत राजस्व दुई करोड ७० लाख ९० हजार छ सय रूपैयाँ बुझाउनुपर्नेमा दुई करोड २६ लाख ५२ हजार मात्रै बुझाएका छन् । ठेकेदार ठाकुरले खोला ठेक्काका लागि दुई करोड २५ लाख रूपैयाँ नेपाल बंगलादेश बैंकको जनकपुर शाखामा कात्तिक मसान्तसम्मका लागि जमानत राखेका थिए । बैंकलाई नगरपालिकाले पटक–पटक राजस्व दाखिलाका लागि पत्राचार गरे पनि अझसम्म भएको छैन । ठेकेदार ठाकुरले बैंकका कर्मचारीलाई समेत प्रलोभनमा परेर राजस्वबापतको रकम दिन आलटाल गरिरहेका छन् ।

जय बजरंग बालुवा प्रशोधन उद्योगका सञ्चालक ठाकुरले लकडाउनका कारण खोला उत्खनन गर्न नसकेको भन्दै राजस्व मिनाहाका लागि उच्च अदालत जनकपुरमा रिट निवेदन समेत दिएका छन् । उनले दायर गरेको रिटमा उच्च अदालत जनकपुरका न्यायाधीशद्वय बालकृष्ण उप्रेती र रमेश ढकालको संयुक्त इजलासले गत असार २२ गते कार्यपालिकाको सम्झौताबमोजिम निर्णय नहुञ्जेलसम्मका लागि यथास्थितिमा राख्ने निर्णय गरेको छ । रिटको अर्को सुनुवाइ यही पुस २१ गते तोकिएको छ ।

यस्तै मिथिला नगरपालिकाको गत कात्तिक २ गते बसेको कार्यपालिकाको बैठकले दोस्रो किस्ताको राजस्वमा ठाकुरलाई ५० प्रतिशत छुट गर्ने निर्णय गरेको थियो । दोस्रो किस्ताबापतको राजस्व एक करोड ८० लाख ६० हजार चार सय रूपैयाँमा ५० प्रतिशत मिनाहा गर्ने निर्णय गरेको छ । निर्णयपछि बाँकी रहेको दोस्रो किस्ताको राजस्व ९० लाख ३० हजार दुई सय रूपैयाँ र पहिलो किस्ताको बुझाउन बाँकी ४४ लाख ३८ हजार छ सय रूपैया गरी एक करोड ३४ लाख ६८ हजार आठ सय रूपैयाँ राजस्व बुझाउन पटक–पटक पत्राचार गरे पनि दाखिला नभएको प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोलले बताए ।

गत वर्ष मिथिला नगरपालिकाले अमानतमा खोला ठेक्का लगाएर संकलन गरेको राजस्वमा समेत अनियमित भएको पाइएको बताइन्छ । अनियमित भएको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेपछि राजस्वको रकमपछि नगरपालिकाले दाखिला गरेको थियो । नगरपालिकाकै औरही नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्दा २०७६ पुस २५ गते २४ वर्षीय दिलीप महतोको हत्यासमेत क्रसर व्यवसायीले गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया