Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकंके देउरालीको संरक्षणमा स्थानीय सरकारको चासो

कंके देउरालीको संरक्षणमा स्थानीय सरकारको चासो


गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकामा अवस्थित कंके देउरालीको संरक्षणमा स्थानीय सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्दै आएको कंके देउरालीको विकासका लागि स्थानीय सरकारले यसलाई मुख्य केन्द्रबिन्दु बनाएर अगाडि बढेको हो ।

कंके देउरालीमा पुगेपछि अर्घाखाँची, प्युठान, पाल्पा, रोल्पा, बाग्लुङ र पर्वतलगायतका जिल्लाको अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा रहेको मन्दिरमा भाकल गरेमा सबै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । त्यस क्षेत्रमा मदाने गाउँपालिकाका स्थानीयहरूले नयाँ बाली चढाई खाने, गाईको दुधले धार दिने गर्दछन् ।

कंके देउराली आठ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा घुम्न तथा प्राकृतिक आनन्द लिनको लागि गुल्मीलगायत आसपासका जिल्लाबाट आन्तारिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । कंके देउराली प्राकृतिकरूपमा मात्रै नभई धार्मिक र पर्यटकीय रूपमा प्रख्यात ठाउँ भएकाले यसको दिनप्रतिदिन महत्व बढ्दै गएको मदाने गाउँपालिका वडा नं ६ डढुवाका रेम्बो घर्तीले बताए । यस क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पिति पनि पाइने गर्दछन् ।

कंके देउराली क्षेत्रमा विशेषगरी सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकिललगायतका जडीबुटीहरू पाइने गर्दछन् । कंके देउरालीमा वनस्पतिको रूपमा लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, धुपीसल्लालगायतका वनस्पतिहरू प्रशस्त पाइने गर्दछन् ।

कंके देउरालीमा आवाजजावात गर्न सडक, मन्दिर र आकर्षक सिँडी निर्माणलगायतका संरचना निर्माणको काम गाउँपालिकाले गरिरहेको छ । यस ठाउँमा भ्यू टावरको निर्माण गरेर देउरालीकोे चारैतिर प्रचारप्रसार गरी आन्तारिक तथा बाह्य पर्यटक भित्र्याएर एक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने तयारीमा रहेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् ।

गाउँपालिका उपाध्यक्ष खड्काका अनुसार धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित बन्दै आएको कंके देउरालीलाई गाउँपालिकाले दिगो विकास र संरक्षण गर्नसकेमा आम्दानीको मुख्य स्रोत कंके देउराली बन्नसक्ने उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया