‘कर्मयोगी बद्री पहाडी पुरस्कार’ पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेललाई

काठमाडौं ।
मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पूर्वप्रमुख निर्वाचन आयुक्त एवं पूर्वप्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ । बुधबार शान्ति समाजद्वारा काठमाडौंमा आयोजित पुरस्कार अर्पण कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई एक लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गरेका हुन् । यसैगरी आठवटा सामाजिक संस्थाहरुले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका थिए ।
पुरस्कार÷सम्मान ग्रहण कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले बद्री पहाडीको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिँडाउने भूमिकामा केन्द्रित रहेको बताउँदै आफूजस्ता कयौँ युवाको बद्री पहाडी उत्प्रेरकको रुपमा रहेको बताए । पोखरेलले अहिले हरेक क्षेत्रमा अति राजनीतीकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाहरुको अतिक्षयीकरण तथा तेजोवध हुनु मुलुकको अवनतिको कारण रहेको भन्दै अहिले अन्तर्राष्ट्रियस्तरमा नेपालको साख गिरेको बताए । शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, शान्ति समाजका सदस्य लक्ष्मी रानलगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा भोजराज पोखरेलले कल्याणकारी कार्यमा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्ना तर्फबाट २ लाख २० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका छन् । पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानवअधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २०१० जेठ २ गते खोटाङमा जन्मिएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यसैगरी तीन दशकभन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्व वहन गरेका थिए ।
सन् २००८ मा बंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०/११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्रसंघका महासचिवले पोखरेललाई दुई पटक उच्चस्तरीय प्यानलमा नियुक्त गरेका थिए । युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस वासिङ्टन डीसीको सिनियर फेलो र हार्वड केनेडी स्कुलको म्यासन फेलो पोखरेल सन् २०१५ मा म्यान्मारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सहअध्यक्ष समेत थिए । हाल उनी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समूहको सदस्य छन् ।
मानवअधिकार तथा शान्ति समाजद्वारा समाजसेवा/सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष १ लाख १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत/सम्मानित गर्ने उद्देश्यले २०७६ सालमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरिएको थियो । यसका लागि पहाडी परिवारबाट प्राप्त १० लाखको अक्षयकोष स्थापना गरिएको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया