Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा शाक्य

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा शाक्य


काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको शुक्रबारदेखि साठमाडौंमा सुरु भएको सातौं तथा आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरुमा मोहनकाजी शाक्य, दियेश रत्न शाक्य, विपिन रामुदामु र एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी निर्वाचित भएका छन् । यसैगरी महासंघको महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित भए ।

यस्तै प्रवक्तामा मनोज कुमार शाह, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् । महासंघको विधानमा ५५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । साथै साधारणसभाले विधान संशोधन गरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न व्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार प्रस्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गा बहादुर सुनार, महेन्द्ररत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन् ।

यस्तै प्रस्तावित सचिवमा केशबहादुर सुनार तथा प्रस्तावित सहकोषाध्यक्षमा रमेश रसाइली रहेका छन् । नयाँ व्यवस्थाअनुसार महासंघमा अब ७७ जनाको कार्यसमिति रहनेछ । महाधिवेशनको पहिलो दिन शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । संघीय संरचनाअनरुप आफूलाई अगाडि बढाएको महासंघले यसअघि नै प्रदेशगतरुपमा नयाँ नेतृत्व चयन गरिसकेको छ । केन्द्रीय नेतृत्वमा प्रत्येक प्रदेशबाट दुई/दुई जनाका दरले १४ जना र बाँकी एक महिला सदस्यसहितका पदाधिकारी एवं सदस्यहरु केन्द्रीय तहबाट छनौट गर्ने व्यवस्था विधानमा छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ फागुन २० गते विधिवत् रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीहरुको छाता संगठन हो । मुलुकको संघीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला/नगर संघको अलावा एसोसिएट सदस्यहरु तथा वस्तुगत संघहरु यस महासंघमा आबद्ध छन् । साधारणसभाका अवसरमा तीन जना सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । महासंघका अध्यक्ष मोहन सुनारको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया