Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोभिडले औद्योगिक करिडोरमा पारेको समस्या समाधानबारे उद्योग मन्त्रालय र उद्योगीबीच छलफल

कोभिडले औद्योगिक करिडोरमा पारेको समस्या समाधानबारे उद्योग मन्त्रालय र उद्योगीबीच छलफल


विराटनगर ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र उद्योग मन्त्रालयका बीचमा सुनसरी मोरङ औद्योगिक करिडोरमा कोभिड १९ ले पारेको समस्या र समाधानको लागि छलफल भएको छ । उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा आएको मन्त्रालयको उच्चस्तरीय अधिकृतहरूको टोलीसँग कोभिड १९ का कारण उद्योग क्षेत्रमा परेको असरका सम्बन्धमा स्थलगत अध्ययन अवलोकन समेत गरिएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले जानकारी दिए ।

उद्योग मन्त्रालयको टोलीलाई उद्योग वाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष भीमबहादुर पौडेलले कोरोना भाइरसका कारण विश्वभर आएको आर्थिक संकटबाट नेपालमा पनि असर पर्दा उद्योगको उत्पादन, कामदार कटौती, बैंक ब्याज, सरकारको राजस्वलगायतका क्षेत्रमा ठूलो नोक्सानी हुँदा देशको आर्थिक अवस्था नै धाराशायी बन्न पुगेको जानकारी गराएका थिए । यस्तै महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले एकीकृत भन्सार जाँच केन्द्रको स्थापना भए पनि बल्क कार्गोका लागि अहिलेसम्म रेल सुविधा नहुँदा लागत बढिरहेको तर्फ मन्त्रालयको ध्यान पुग्न नसकेको बताए । साथै उनले अविलम्ब रेल सुविधा ल्याउन मन्त्रालयबाट पहल गर्नुपर्ने बताए ।

यसैगरी उनले ठूलो लगानीकर्ताका लागि मात्र एकद्वार नीति भएकोमा मन्त्रालयबाट साना उद्योगी व्यवसायीलाई पनि यो सुविधा दिई ऋणको सुविधा दिएर सरकारले साना व्यवसायीहरूबाट पनि फाइदा लिन सक्नुपर्ने बताए । जग्गाको लागत धेरै महँगो हुन जाँदा औद्योगीकरण हुन नसकिरहेको भन्दै उनले सरकारले लिजमा जग्गा उपलब्ध गराउनुपर्ने बताए । देशको आर्थिक विकासका लागि अब ग्लोबल भ्यालु चेन्जमा जान जरुरी रहेको उनको भनाइ थियो । बंगलादेशको व्यापार घाटा बढ्दै गएको हुँदा त्यसतर्फ निकासी बढाउनुपर्ने, निकासी हुने वस्तुको आयातमा कच्चापदार्थ आयातमा पासबुकको सुविधा दिएकोमा सहायक कच्चा पदार्थको आयातमा समेत पासबुकको व्यवस्था गरिनुपर्नेलगायतका माग उनले सरकारसँग राखेका थिए ।

त्यसैगरी वैदेशिक लगानी भित्र्याउन जरुरी रहेको बारेमा पनि छलफल भएको भएको छ । वैदेशिक लगानी भित्र्याउँदा पुँजीमात्र नभएर प्रविधि र सीप पनि भित्रिने हुँदा त्यसबाट देशको आर्थिक विकासमा टेवा पुग्ने महासंघले जनाएको छ । विराटनगर भन्सार नाकासँग प्रत्यक्ष सरोकार राख्ने भारतको मीरगञ्जपुलको अवस्था अहिलेसम्म पनि जस्ताको तस्तै रहेको र भविष्यमा उक्त पुलका कारण यस क्षेत्रका आर्थिक कारोबार समेत ठप्प हुन सक्ने भएकोले यसको समाधानका लागि मन्त्रालयस्तरबाट अविलक्ब पहल गर्नुपर्नेमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी एवं व्यवसायीले जोड दिएका थिए ।

मन्त्रालयका सचिवस्तरीय टोलीसँग महासंघ प्रदेश नं. १ का नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले नेपालमा आत्मनिर्भर हुने खालका उद्योगलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिँदै स्वेदेशी कामदार विदेशीने क्रमले गर्दा विदेशी कामदार ल्याउन बाध्यता रहेको बताए । अहिले कोभिडका कारण कामदार ल्याउन नसक्दा कतिपय उद्योगहरू बन्द अवस्थामा रहेको उनको भनाइ थियो । अध्यक्ष ढकालले भन्सारमा जाँचपास भइसकेका माल सामान बाटामा रोकेर चेकजाँचगर्ने प्रवृत्ति रोक्नुपर्ने र त्यस्तो चेक जाँचगर्नु नै पर्ने हो भने भन्सार क्षेत्रमै गर्नुपर्ने भन्दै बाटोमा गाडी रोकेर गर्न चेकजाँच गर्न नहुने बताए ।

उद्योग मन्त्रालयका उद्योग सचिव चन्द्रकुमार घिमिरेले देशको अर्थतन्त्र जसरी चलायमान हुनुपर्ने हो, त्यसो नभई रेमिट्यान्सले मात्रै अर्थतन्त्रलाई धानेको बताए । रेमिट्यान्सबाट आयातकर्ता र जग्गाको कारोबारीलाई फाइदा पुगिरहेको तर्फ उनले उद्योगी तथा व्यवसायीको ध्यानाकर्षण समेत गराए । उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर अगाडि बढियो भने देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

वैदेशिक लगानी पुँजीमा मात्र नहेरेर त्यसको प्रविधि, ज्ञान, सीपलाई समेत हेर्नुपर्ने उनले बताए । उनले आजको युगमा पुरानै ढर्राबाट कारोबार हुन नसक्ने भन्दै अहिलेको प्रविधिमा जान पनि वैदेशिक लगानी भित्र्याउन जरुरी रहेको जानकारी दिए । अब एन्टीडम्पिङ कर पूर्णरूपमा लागू भइसकेको अवस्थामा यसको कार्यान्वयन भावना नभएर तथ्यांकगतमा आधारित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया