Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्तन नफाली ‘स्तन क्यान्सर’को शल्यक्रिया नेपालमै

स्तन नफाली ‘स्तन क्यान्सर’को शल्यक्रिया नेपालमै


काठमाडौं ।
नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला शल्य चिकित्सकबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर महिलाहरुमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट (स्तन) क्यान्सरबाट पीडित बिरामीहरुको उपचार थालेकी हुन् ।

उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्तन क्यान्सर पीडित महिलाहरुलाई लक्षित गरी ओपीडी सेवा दिन थालेकी छिन् । उनको ओपीडी सेवा लिन चाहने महिलाहरुले दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि अस्पतालमा फोन गरेर अग्रिम नाम लेखाउनुपर्ने अस्पतालले जनाएको छ ।

नेपालका अन्य केही अस्पतालहरुमा समेत स्तन क्यान्सरको उपचार हुने गर्छ । तर, ती अस्पतालहरुमा उपचार तथा शल्यक्रिया गर्ने सर्जन पुरुषहरु मात्र छन् । महिलाहरुको संवेदनशील अंग भएका कारण उनीहरुले महिला सर्जनसँग सहज अनुभव गर्ने र सम्भवतः डा. कार्की नेपालकै पहिलो र एकमात्र स्तन क्यान्सरको उपचार गर्ने महिला सर्जन समेत हुन् ।

डा. कार्कीका अनुसार प्रत्येक चार महिलामध्ये एक महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ । यस्तै, विश्वका छ महिलामध्ये एक जनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ । यो अनुपात अझै बढ्ने सम्भावना देखिएकोले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको डा. कार्की बताउँछिन् ।

डा. कार्कीले नर्भिकमा स्तन क्यान्सर भएका वा शंका लागेका महिलाहरुको अत्याधुनिक प्रविधिको सहायताले परीक्षण गर्छिन् । डा. कार्कीले भारत टाटा मेडिकल सेन्टरलगायतका प्रतिष्ठित संस्थाहरुमा ब्रेस्ट क्यान्सर विषयमै फेलोसिप गर्दा सात सय हाराहारी महिलाहरुको शल्यक्रिया गरेकी छिन् । उनीसँग जनरल ल्याप्रोस्कोपिक सर्जनको रुपमा धुलिखेल अस्पताललगायतमा समेत काम गरेको अनुभव छ । उनले एमबीबीएस भने पाकिस्तानबाट गरेकी हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया