Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउद्यमशीलता विकास गर्न आफन्त सञ्जाल सञ्चालनमा

उद्यमशीलता विकास गर्न आफन्त सञ्जाल सञ्चालनमा


काठमाडौं ।
लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रवर्द्धन गर्नुका साथै उद्यमशीलता विकास गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । उक्त ‘आफन्त’ नामक सञ्जालको प्रधानमन्त्री कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालले सार्वजनिक गरेका हुन् ।

सचिव अर्यालले ‘आफन्त’लाई साना उद्योगी र तिनका उत्पादनदेखि बजारीकरण गर्न सघाउने किसिमले सदुपयोग गर्न आग्रह गरे । उनले भने, ‘एप र सञ्जालहरुको भीडमा यो त्यत्तिकै नहराओस् । उत्पादन, बजार, उद्यमीहरूलाई जोड्न सकोस् । प्रयोगकर्तालाई सजिलो होस् ।’ वेबसाइट तथा एप दुवै माध्यममा उपलब्ध आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो उपाय आएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष तथा आफन्त नेपाल प्रालिका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।

कृषि, औद्योगिकलगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदान प्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उनको भनाइ छ ।

अन्य सामाजिक सञ्जालमा जस्तै ‘आफन्त’मा तस्बिर, भिडिओ पोस्ट गर्न तथा लेख, ब्लगहरु पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ । ‘आफन्त’मार्फत उद्योगी व्यवसायीले संसारभर छरिएका ग्राहकलाई कुनै पनि उत्पादन बिक्री गर्न सक्ने सञ्चालनकर्ता कम्पनी आफन्त नेपाल प्रालिले जनाएको छ ।

बिक्रेता र क्रेतालाई जोड्ने पुलका रुपमा काम गर्ने ‘आफन्त’लाई नेपालीहरूको अनलाइन साझा चौतारी बनाउन खोजिएको यसका सञ्चालक तेजप्रसाद ढकालले बताए । रोजगारी दिने र कामको खोजीमा रहेकालाई पनि सहयोग पु-याउने ‘आफन्त’ प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ । जागिरको खोजीमा रहेकाहरुले पनि आफूलाई उपयुक्त लागेको भ्याकेन्सीमा एप्लाइ गर्न सक्नेछन् । ‘साना उद्यमीहरूका लागि यो राम्रो प्लेटफर्म हो’, एनपीईडीसीकी अन्जना ताम्राकारले भनिन्, ‘उद्यमीले बजार नपाउँदा समस्या भोगिरहेका छन् । यो एकदमै ठूलो अवसर हो ।’

‘आफन्त’ साँच्चिकै उपयोगी भएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुश कुमार जोशीले नेपालीहरुलाई जोड्ने यो एप जति बढी प्रयोग गर्न सक्यो, त्यति फाइदा रहेको बताए । जोशीले भने, ‘यो सञ्जालबाट देशका कुनाकाप्चामा उत्पादन भएका सामान बेच्न सकिन्छ ।’ गाउँघरमा उत्पादन भएका वस्तु तथा सामानहरु यस प्लेटफर्ममार्फत बेच्न सकिने आफन्त नेपाल प्रालिले बताएको छ । आफन्त नेपालका सञ्चालक ढकालले संघीय, प्रदेश, स्थानीय सरकारसँग मिलेर अगाडि बढ्ने योजना रहेको बताए । यो एप एन्ड्रोइड र आईओएस दुवै भर्सनमा डाउनलोड गर्न सकिन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले आफन्त प्लेटफर्मलाई बहुआयामिक तवरले व्यवसायसँग जोडेर अगाडि बढाउन सकिने बताए । विदेशमा रहेका नेपालीहरुलाई नेपालको उत्पादनसँग जोड्ने अवसर भएको भन्दै नेपाली पहिचान बोकेका उत्पादकहरुले फाइदा लिन सक्नुपर्ने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया