Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहासंघ र विभागबीच उद्योगहरूको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने सम्झौता

महासंघ र विभागबीच उद्योगहरूको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने सम्झौता


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच उद्योगहरूको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने सम्झौता भएको छ । नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका छन् ।

त्यसरी तयार गरिएको डेटाबेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ । दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसंग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिवद्धता जनाएका छन् । आपसी सहमतिअनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवर्द्धन एवं उद्योगहरुको सञ्चालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्बोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसायको निरन्तर सञ्चालनमार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु-याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्नसक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनर्स्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्नसक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्था बीच विभागको संयोजकत्वमा छ सदस्यीय एक कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख गरिएको छ । सोही समितिमार्फत नियमितरूपमा दुवै संस्थाहरु एक ठाउँमा बसी बैठक छलफल गर्ने, संकलित तथ्यांकको भण्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचारप्रसार र समन्वयका लागि केन्द्रीय तथ्यांक विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारीहरू र गैरसरकारी संस्थाका प्रतिनिधिलाई समेत आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ ।

मुलुकभित्र सञ्चालित उद्योग व्यवसायका सम्बन्धमा ठोस र आधारिक तथ्यांकको नहुँदा उद्योग व्यवसाय विस्तारमा समेत कठिनाइ पर्न गएको यथार्थबीच महासंघ र विभागको यो सहकार्यबाट सम्बोधन हुने अपेक्षा गरिएको छ । महासंघको उद्योग समितिको सक्रियतामा यो समझदारीले मूर्तरुप पाएको हो ।

महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुनसक्ने भन्दै दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष चार लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्न पनि यो सहकार्य सहयोगी हुने बताए । उद्योग विभागका महानिर्देशक भुसालले महासंघसँग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने बताए ।

महानिर्देशक भुसालले उद्योग विस्तार गर्न देखिएका समस्या पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमति महत्वपूर्ण पहल हुने बताए । महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यले सरकार र महासंघबीचको यो समझदारी मुलुकभित्र उद्योग व्यवसाय विस्तारमार्फत रोजगारी सृजना, लगानी तथा प्रविधि आकर्षणका लागि समेत सेतु बन्ने बताए । हस्ताक्षर समारोहमा समितिका सहसभापतिहरू, सदस्यहरू, उद्योग विभाग र महासंघका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया