Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बझाङका तीन हजार युवालाई सय दिनको रोजगार

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बझाङका तीन हजार युवालाई सय दिनको रोजगार


बझाङ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्लाका तीन हजार पाँच सय २९ हजार युवाले सय दिनबराबरको रोजगारी पाउने भएका छन् । १२ वटै स्थानीय तहमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सरकारले युवालाई लक्षित गर्दै पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा बेरोजगारलाई रोजगारी दिने योजनाअन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू गरेको थियो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बुङगल नगरपालिकामा सात सय २० जना, जयपृथ्वी नगरपालिकामा तीन सय १६ जना, केदारस्यु गाउँपालिकामा तीन सय नौ जना, थलारा गाउँपालिकामा चार सय ६५ जना, तलकोट गाउँपालिकामा चार सय चार जना, दुर्गाथली गाउँपालिकामा एक सय ५६ जना, छविसपाथीभेरा गाउँपालिकामा एक सय ३६ जना, खप्तडछान्ना गाउँपालिकामा एक सय २९ जना, सुर्मा गाउँपालिकामा दुई सय ४४ जना मष्टा गाउँपालिकामा दुई सय ३४, साइपाल गाउँपालिकामा एक सय २९ जना र वित्थडचिर गाउँपालिकामा दुई सय ८७ जना गरी जिल्ला भरी तीन हजार पाँच सय २९ जनाले रोजगारी पाउनेछन् ।

यस आर्थिक वर्षमा मात्र स्वरोजगार कार्यक्रमअन्तर्गत करिब १७ करोडबराबरको विकास निमार्णका काम सुरू गरिएको छ । जयपृथ्वी नगरपालिकाका तीन सय १६ जना बेरोजगारहरूले सय दिनबराबरको कामबाट एक करोड ६३ लाख ३८ हजार रुपैयाँ पाउने भएका छन् । बुङगल नगरपालिकामा यस आर्थिक वर्षमा सात सय २० जनाले तीन करोड ७२ लाख २४ हजार रुपैयाँ पाउनेछन् । यस्तै, यो कार्यक्रममा सडक निर्माण, तटबन्ध र वडा कार्यालयमा ज्यालाको काम भइरहेको छ । काम गरेबापतको रकम सिधै उनीहरूको बैंक खातामा जाने भएकाले आर्थिक अनियमितता हुने बताइएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गत वर्ष विभिन्न पूर्वाधार निर्माणका कामहरू गरेको र यस वर्ष पनि पूर्वाधार विकासमै जोड दिइएको तल्कोट गाउँपालिका रोजगार संयोजक पुष्कर सिंहले बताए ।

‘योजनाहरूको दिगोपनका लागि समेत गाउँपालिकासँग सहकार्य गरेर अघि बढिरहेका छौँ’, उनले भने, ‘सरकारले काम गर्दा हुने घटनालाई मध्यनजर गर्दै कामदारहरूको बीमासमेत गर्ने गरेको छ ।’ यो कार्यक्रमअन्तर्गत कामदारलाई सरकारले दैनिक पाँच सय १७ रुपैयाँ ज्याला दिने गर्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत केन्द्रबाट ज्यालाबापतको रकम मात्र आउने भएकाले स्थानीय तहले दक्ष जनशक्ति र आवश्यक निर्माण सामग्रीका लागि बजेट छुट्याउनसके यो कार्यक्रम झनै प्रभावकारी र दिगो हुने जयपृथ्वी नगरपालिकाका रोजगार संयोजक रामचन्द्र धामीले बताए ।

जिल्लामा यो कार्यक्रमअन्तर्गत कुलो, नहर, बाटो, खानेपानी निर्माण, सामुदायिक वन संरक्षण, वृक्षरोपण, सडक मर्मत, तटबन्धजस्ता निर्माणका कामहरू हुँदै आएको छ । वर्षभर बेरोजगार भएर बस्नुपर्दाको पीडालाई सम्झिँदै जयपृथ्वी नगरपालिका वडा नं १ की पारसी सिंहले यो कार्यक्रम सुरू भएसँगै घरखर्च चलाउन सहज भएको र आफ्नै गाउँमा निर्माणको काम गर्न पाउँदा खुसी लागेको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया