Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभोलिदेखि ललितपुरमा महिला हस्तकला मेला

भोलिदेखि ललितपुरमा महिला हस्तकला मेला


काठमाडौं ।
हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको सम्वर्द्धन भन्ने नाराका साथ १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला हस्तकला मेला हुने भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगरपरिसरमा शनिबारदेखि सोमबारसम्म मेला आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हातेकागजका सामान, सेरामिक तथा माटोका सामग्री ,सीसाजन्य सामग्री गरी करिब ५० स्टल रहने मेला आयोजक समिति संयोजक सविता सिंह महर्जनले जानकारी दिइन् । उनका अनुसार मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिवासी उद्यमीका साथै अपांगता भएका महिलाका उत्पादनहरु रहने छन् ।

महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन/नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजार विकास र प्रवर्द्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी, व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवर्द्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत हस्तकला वस्तुको निर्यात प्रवर्द्धन गर्न सघाउ पु-याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र समापन उपप्रमुख गीता सत्यालले गर्ने आयोजकले जनाएको छ । महासंघका अनुसार कुल सदस्यमध्ये १० प्रतिशत महिला उद्यमीको सहभागिता छ । नेपाल हस्तकला महासंघले ‘हस्तकला समृद्धिका सम्भावना’ भन्ने उद्घोष (नारा) का साथ वर्षभरि विभिन्न प्रवर्द्धनमुखी कार्यक्रम गरी हस्तकला वर्ष मनाइरहेको छ ।

महासंघले यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा जनकपुरमा फागुन २ गतेदेखि ४ गतेसम्म प्रथम चरणमा महिला हस्तकला मेला आयोजना गरेको थियो । शनिबारदेखि सुरु हुने मेला दोस्रो चरण रहेको आयोजकले जनाएको छ । नेपालको निर्यात व्यापारमा हस्तकला क्षेत्रले महत्वपूर्ण स्थान ओगट्न सफल रहेको छ । हस्तकलाको आन्तरिक बजारमा करिब १० अर्बंबराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा भारतलगायत तेस्रो मुलुकहरुमा निर्यात रहेको छ ।

आयात र निर्यातबीचको दूरी बढ्दै गई मुलुकको व्यापारघाटा बढ्दै गएको अवस्थामा हस्तकलाजस्ता स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित रोजगारमूलक उद्योग व्यवसायको विकास एवं विस्तारको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाख व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरिरहेका छन् । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान र गरिमा पनि बढाएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया