Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालललितपुर महानगरपालिका परिसरमा महिला हस्तकला मेला सुरु

ललितपुर महानगरपालिका परिसरमा महिला हस्तकला मेला सुरु


काठमाडौं ।
हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको सम्वर्द्धन नाराका साथ १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेला सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिए पनि उनीहरु हस्तकला व्यवसायमा नलागी नोकरीका लागि भौतारिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘हस्तकला उद्यशीलता प्रवर्द्धनका लागि हामीले तालिम, गोष्ठीमा धेरै खर्च ग-यौँ तर तालिम लिनेहरु उद्यमशीलतातर्फ नलागी नोकरी खोज्दै हिँड्ने गरेको पाइयो, अब महानगरपालिकाले यस्ता उपलब्धिविहीन तालिम गोष्ठीमा खर्च गर्नेछैन ।’

उनले हस्तकलाको प्रवर्द्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । महानगरपरिसरभित्र मात्र नभई ललितपुरका सडकपरिसरमा समेत रातको समयमा हाट बजार सञ्चालन गरी आफ्नो उत्पादनको प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो ।

महानगरपालिकाले मुख्य सडक तथा बजार क्षेत्रमा रातको समयमा पनि लाइटको व्यवस्था गरेको कारण रातको समयमा हाटबजार सञ्चालन गर्न कुनै समस्या नहुने उनको भनाइ थियो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले निर्यात व्यापारमा नेपाली हस्तकलाको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा महिला हस्तकला उद्यमीसँग पनि मेला, प्रदर्शनीहरुमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाका कारण शिथिल बनेको हस्तकला प्रवर्द्धनमा मेलाबाट थप टेवा पुग्ने बताए ।

मेला संयोजक सविता सिंह महर्जनले कोरोनाबाट थलिएको हस्तकलाको प्रवर्द्धनका लागि मेला आयोजना गरिएको बताइन् । उनले मेलामा करिब ५० स्टल रहेको जानकारी गराउँदै उत्कृष्ट एक स्टललाई पुरस्कृत गरिने घोषणा समेत गरिन् । सो अवसरमा ललितपुर महानगरपालिका अन्तर्गतको हस्तकला प्रवर्द्धन समितिका संयोजक सुरेशमान महर्जन, उपमेयर गीता सत्याललगायतले उद्यमशीलताविना महिला सशक्तीकरण हुन नसक्ने भन्दै महिलालाई आर्थिक रुपमा सम्पन्न गराउन विना धितो कर्जाको व्यवस्थाका लागि महानगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

फागुन २४ गतेसम्म सञ्चालन हुने मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका सामान, बिड्सका सामान, ऊनी तथा सुती, ढाकाका सामान, पश्मिना, हातेकागजका सामान, सेरामिक तथा माटोका सामान, सिसाजन्य सामानका साथै बैंक तथा वित्तीय संस्था गरी करिब ५० स्टल रहेको आयोजकले जनाएको छ । मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एवं कम आय भएका महिला, जनजाति आदिवासी उद्यमीका साथै अपांगता भएका महिलाका उत्पादन पनि रहेका छन् ।

महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन/नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजार विकास र प्रवर्द्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी, व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवर्द्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात प्रवर्द्धन गर्न सघाउ पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया