Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहिला सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानलाई करमा विशेष छुट दिन आग्रह

महिला सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानलाई करमा विशेष छुट दिन आग्रह


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन सरकारसँग आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले आयोजना गरेको विशेष कार्यक्रममा उनले कृषि तथा जलविद्युत् क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायहरूलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने बताए ।

सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म विना धितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट व्यहोर्नुपरेको उनको भनाइ थियो । जति दिने हो, त्यसलाई विना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन उनले आग्रह गरे । महिलाहरूले उत्पादन गरेका सामानहरू प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन पनि उनले सरकारसँग आग्रह गरे ।

महिला चेम्बरले काठमाडौंको होटल -याडिसनमा सोमबार आयोजना गरेको कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको वास्तविक सम्मान हुन नसकेको बताए । संविधानले महिलाहरूलाई समान अधिकार दिएकाले सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको भए पनि कानुनले दिएका अधिकारहरूको व्यावहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

दिनानुदिन बलात्कारका घटनाहरू बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तर्राष्ट्रियस्तरमा मुलुकको छविसमेत धुमिल भइरहेको बताए । साथै उनले महिलाहरूद्वारा सञ्चालित उद्दमहरूको प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जानु चिन्ताको विषय भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन् । महिलालाई आर्थिक रुपले सक्षम नबनाई कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उनको भनाइ थियो ।

महिलाहरूले गर्ने व्यवसायमा करछुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न उनले माग गरिन् । नेपाल महिला चेम्बरले महिलाहरूको क्षमता अभिवृद्धिमा कार्य गरिरहेको उल्लेख गर्दै उनले नीतिगत सुधारमा पनि आफूहरूले आवाज उठाइरहेको बताइन् । कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको पनि उद्घाटन गरेका थिए । सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ ।

व्यवसायीहरू सम्मानित : १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चेम्बरले पाँच महिला व्यवसायीहरूलाई सम्मान गरेको छ । सम्मानित हुने महिला व्यवसायीहरूलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र प्रदान गरेका थिए । आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल सम्मानित भएका छन् । यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ, एग्रो आन्टरप्रेनर अवार्डबाट झापाको कन्काई महिला ग्रुप र महिला उद्यमी अवार्डबाट रेखा चौधरी शर्मा सम्मानित भएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया