Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभीमदत्तको फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन सहयोगको प्रतिबद्धता

भीमदत्तको फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन सहयोगको प्रतिबद्धता


कञ्चनपुर ।
भीमदत्त नगरपालिकाको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि विभिन्न पक्षबाट सहयोगको प्रतिबद्धता आएको छ । एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्तर्गत झण्डै ६० करोडमा फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने योजना छ ।

आधुनिक प्रविधिको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउन प्रतिबद्धता जनाएका छन् । भीमदत्त नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले ठूलो लगानीका योजना सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता गरेका छन् । छलफल कार्यक्रमबाट केन्द्र निर्माणका लागि सहजीकरण गर्न खेम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरिएको छ । समितिमा गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलवाल र अधिकारकर्मी प्रभुनिधि पन्त सदस्य छन् ।

नगरपालिकाले यसअघि भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रेम जैसीको संयोजकत्वमा कार्यदल गठन गरिसकेको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले आधुनिक सहर बनाउने लक्ष्यअनुसार क्षेत्रीय सहरी विकास योजनाको पहिलो चरणको कार्य अघि बढेको बताए । ‘यो २० वर्षे योजनाको पहिलो चरणअन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्रसहित अन्यका पूर्वाधार निर्माणका कार्यक्रम छन्’, उनले भने, ‘दोस्रो चरणमा मेगासिटी बनाउने गरी अघि बढ्ने लक्ष्य हो, त्यसका लागि पहिलो चरण सफल बनाउन सबै पक्षको सहयोग आवश्यक छ ।’

कार्यक्रममा भीमदत्तका उपमेयर सुशिला चन्द सिंहले फोहोरमैला व्यवस्थापन केन्द्र साझा एजेण्डा भएकाले सबै पक्षको सहयोग चाहिने बताइन् । ‘यो भीमदत्तको साझा एजेण्डा हो, सबै सकारात्मक भएर जानु आवश्यक छ’, उनले भनिन्, ‘सकारात्मक सोच लिएर अघि बढ्यौँ भने यो पूरा हुन्छ ।’

कार्यक्रममा नेकपा(एमाले) का नेता शेर बहादुर चन्दले फोहोरमैला व्यवस्थापन केन्द्र नगरपालिकालाई आवश्यक भएकाले निर्माणमा सहयोग गर्ने बताए । ‘केन्द्र निर्माणमा के कस्ता समस्या छन्, सम्बन्धित क्षेत्रमा गएर पनि त्यस्ता समस्या हल गर्न सकिन्छ’, उनले भने । नेपाली कांग्रेसका नेता पुष्पराज जोशीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थानीयलाई बुझाउनुपर्ने आवश्यकता देखिएको बताए ।

‘अरुले भनेर हुँदैन, विज्ञद्वारा जनतालाई यससम्बन्धी जानकारी गराउन आवश्यक छ’, उनले भने, ‘जनताले माने हामी सहयोग गर्न तयार छौ ।’ नेकपा माओवादी केन्द्रका नेता देबेन्द्र ढुङ्गानाले फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन राजनीतिक दल र जनप्रतिनिधि सबैले सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए । ‘यसबारे बासिन्दालाई विभिन्न बहानामा उक्साइएको छ, सबैलाई सम्झाई बुझाई गरी यो योजना सफल बनाउन सबै लाग्नुपर्छ’ उनले भने ।

यस्तै कांग्रेसका अर्का नेता अपिलाल जोशीले फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन जनताको सहमति नभई नहुने बताए । ‘जनता कन्भेन्स नभएसम्म हुँदैन, जनताको समर्थन भए सहमत हुन्छौ, नत्र हुँदैन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिल बहादुर नाथले २०३४ सालमा बनेको नगरपालिकाको अहिलेसम्म फोहोर व्यवस्थापन केन्द्र हुन नसक्नु दुःखद भएको बताए ।

भीमदत्तका विभिन्न वडाका वडाध्यक्षहरुले सबै राजनीतिक दलले नगरको केन्द्र निर्माणमा गम्भीर हुनुपर्ने बताए । सहरीकरण बढ्दै गएकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण आवश्यक देखिएको उनीहरुको भनाइ थियो । केन्द्र निर्माणका लागि स्थानीयलाई सम्झाउनुपर्ने उनीहरुले बताए । कार्यक्रममा निर्माण व्यवसायी योगेन्द्र ठकुराठी, गैरसरकारी संस्था महासंघका अध्यक्ष नरेश सिलवाललगायतले सबै पक्षको सहयोगमा केन्द्र निर्माण भएर भीमदत्तको फोहोरमैला व्यवस्थापन हुने अपेक्षा राखे ।

भीमदत्त नगरपालिकाको बजार र आसपासका क्षेत्रमा अहिले दैनिक सात दशमलव २९ टन फोहोर निस्किने गरेको छ । नगरपालिकाले महेन्द्रनगर बजारसहित आसपासका सात सय घरबाट फोहोर संकलन गर्दै आएको छ । भीमदत्त नगरपालिकामा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गर्न केन्द्र बनाउन लागिएको हो । २०३४ मा स्थापना गरिएको नगरपालिकामा यसअघि डम्पिङ साइड बनाउन पटक–पटक प्रयत्न गरिएको थियो ।

पछिल्लोपटक आधुनिक प्रविधिसहितको केन्द्र बनाएर फोहोर मैला व्यवस्थापन गर्ने योजना अघि सारिएको हो । क्षेत्रीय सहरी विकास योजनाअन्तर्गत महेन्द्रनगर बजारसहित आसपास क्षेत्रमा एक अर्ब लगानीमा नालीसहितका सडक निर्माण सुरु गरिएको छ । योजनाअन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्र र ३६ किलोमिटर आधुनिक सडक बनाउने योजना छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया