Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराष्ट्रियसभा सदस्य उम्मेदवारले नाम फिर्ता लिएनन्

राष्ट्रियसभा सदस्य उम्मेदवारले नाम फिर्ता लिएनन्


काठमाडौं, पुस २५
राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले नाम फिर्ता लिएनन् । आउँदो माघ ९ गते हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिएकाहरूलाई बिहीबार बिहान १० बजेदेखि चार बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको थियो । ‘मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको व्यहोरा अनुरोध छ’, निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली शुक्रबार बिहान १० बजेदेखि दिनको १ बजेसम्म प्रकाशन गरिने र उम्मेदवारलाई निर्वाचन चिह्न एक बजेदेखि चार बजेसम्म दिइनेछ ।

सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कुल ४५ जनाले मनोनयनपत्र दर्ता गराएका थिए ।

प्रदेश नं. १ को मोरङ जिल्लाको विराटनगर, प्रदेश नं. २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश नंं ३ को ललितपुर जिल्लाको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं. ५ को दाङ जिल्लाको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको लागि पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गराएको थियो ।

प्रदेश नं. १ बाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इन्दिरादेवी गौतम, नेपाली कांग्रेस पार्टीका मीना पुलामी मगर र समाजवादी पार्टीका कमला वडहीले, दलित समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गोपीबहादुर सार्की आछामी, नेपाली कांग्रेस पार्टीका निरबहादुर विश्वकर्मा, र समाजवादी पार्टीका ज्ञानकुमार परियारले अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवेन्द्र दाहाल, नेपाली कांग्रेस पार्टीका राजेन्द्रकुमार घिमिरे र समाजवादी पार्टीका भरतराज दाहालले निर्वाचन अधिकृतको कार्यालय, मोरङमा मनोनयनपत्र दर्ता गराएका छन् ।

प्रदेश नं. २ बाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तुलसाकुमारी दाहाल र नेपाली कांग्रेस पार्टीका नगिना यादवले, दलित समूहतर्फको रिक्त पदमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवानले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फको रिक्त पदमा राष्ट्रिय जनता पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेस पार्टीका भोला पञ्जियारले र अन्य समूहतर्फको रिक्त पदमा राष्ट्रिय जनता पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र समाजवादी पार्टीका अनिरुद्धकुमार सिंहले मनोनयनपत्र दर्ता गराएका थिए ।

प्रदेश नंं ३ बाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गंंगाकुमारी वेल्वासे, नेपाली कांग्रेस पार्टीका छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीका गीता काफ्लेले, अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वेदुराम भुषाल, नेपाली कांग्रेस पार्टीका हरिशरण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले निर्वाचन अधिकृतको कार्यालय, ललितपुुरमा मनोनयनपत्र दर्ता गराएको छ ।

गण्डकी प्रदेशको राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का भगवती न्यौपाने र नेपाली कांग्रेस पार्टीका बिमला गौचनले, अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नारायण काजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चा पार्टीका शंकरप्रसाद बराल र नेपाली कांग्रेस पार्टीका सूर्यप्रसाद रेग्मीले मनोनयनपत्र दर्ता गराएका थिए ।

प्रदेश नं. ५ बाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बिमला घिमिरे र नेपाली कांग्रेस पार्टीका गिरिजादेवी न्यौपानेले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)का जगप्रसाद शर्मा, नेपाली कांग्रेस पार्टीका मेराज अहमद हलवाई, समाजवादी पार्टीका सुनिलकुमार सिंघलले र अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)का गोपाल भट्टराई, नेपाली कांग्रेस पार्टीका बालकृष्ण पाण्डे, समाजवादी पार्टीका कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेलले मनोनयनपत्र दर्ता गराएका छन् ।

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाली कांग्रेस पार्टीका गणेश कुमारी बस्नेत र नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)का सुमित्रा विसीले र अन्य समूहतर्फको रिक्त पदमा नेपाली कांग्रेस पार्टीका डिल्लीराम पाठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मायाप्रसाद शर्माले मनोनयनपत्र दर्ता गराएका थिए । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य महिला समूहतर्फको रिक्त पदमा नेपाली कांग्रेस पार्टीका तुलसी देवकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शारदादेवी भट्टले र अन्य समूहतर्फको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तारामान स्वांर र नेपाली कांग्रेस पार्टीका प्रताप सिंह ठगुन्नाले मनोनयनपत्र दर्ता गराएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया