Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमौद्रिक नीतिलाई उद्योगी तथा व्यवसायीले भरपुर सहयोग गरेको गभर्नर अधिकारीको दाबी

मौद्रिक नीतिलाई उद्योगी तथा व्यवसायीले भरपुर सहयोग गरेको गभर्नर अधिकारीको दाबी


विराटनगर ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई निजी क्षेत्रले आत्मासात् गरिदिएको हुँदा महामारीलगत्तै आर्थिक क्षेत्रमा सुधार आएको बताएका छन् । उद्योग संगठन मोरङको ४८औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले कोभिड १९ पछि आपसी सहयोगको कारण चाँडै आर्थिक सुधार आएको बताए ।

उनले कोभिड १९ महामारीको कारण निम्तिएको लकडाउनको समयमा कसरी ऋण तिर्ने, कसरी किस्ता बुझाउने भन्दै आत्महत्या गर्ने भन्नेसम्मका एसएमएस आउने गरेको पनि उनले बताएका छन् । ‘भएको सबै सम्पत्ति बैंकमा छ । म त आत्महत्या पो गर्नु पर्छ कि क्या हो’ भन्नेसम्मका एसएमएस आफूलाई आएको उनले बताए ।

महामारीको अवस्थामा मौद्रिक नीति बनाउन निकै चुनौती रहेको अवस्थामा पनि निजी क्षेत्रले सहयोग गरेको गभर्नर अधिकारीले बताए । नीति बनाउन मात्र नभएर त्यसको कार्यान्वयनमा पनि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । निजी क्षेत्रले प्रसंशा गरेको मौद्रिक नीतिलाई कार्यान्वयनमा सहयोग गरेर प्रभावकारी बनाइदिएको पनि उनले बताए । मौद्रिक नीतिले व्यवसायीलाई थप कर्जा १० देखि २० प्रतिशत र एडिसनल समेत दिएको कारणले व्यवसायीलाई व्यवसाय अगाडि बढाउन सहयोग पुगेको उनको भनाइ थियो । सरकारले गर्न सक्नेसम्मको सबै सहयोग गरेको तथा निजी क्षेत्रले पनि त्यसको भरपुर प्रयोग गरेर त्यसलाई सफल बनाइदिएको उनले दाबी गरे ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार एवं उद्योगी मोति दुगडले भने सरकारले उद्योगीलाई प्रोत्साहित गर्ने भने पनि सरकारी निकायमा त्यस्तो व्यवहार पाउन नसकेको गुनासो गरे । उनले उद्योगी, व्यापारीलाई अझै पनि दुई नम्बरी, चोर र फटाहको रूपमा हेर्ने सरकारी दृष्टि रहेको बताए । उनले सबैभन्दा बढी देशको समृद्धिमा सहयोग गर्ने क्षेत्रलाई सम्मान गरिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ पछि नेपालको अर्थतन्त्रमा धेरै सुधार आएको बताए । उनले केही क्षेत्रबाहेक अधिकांश क्षेत्र अर्थिकरूपमा तङ्ग्रिसकेको बताए ।

कोभिडपछि निजी क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउनुमा नेपाल राष्ट्र बैंकले लिएको मौद्रिक नीति भएको उनले दाबी गरे । साथै उनले देशको समृद्धिको लागि भिजन पेपर बनाएर सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने तयारी भइरहेको जानकारी समेत गराए । त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोहर, नेपाल चेम्बर अफ कमर्सका राजेन्द्र मल्ल, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कार्यक्रममा सम्बोधन गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया