Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसघन क्षेत्रीय विकास आयोजनाको काममा विवाद, भगतपुर क्षेत्रमा काम रोकियो

सघन क्षेत्रीय विकास आयोजनाको काममा विवाद, भगतपुर क्षेत्रमा काम रोकियो


कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित सघन सहरी विकास आयोजनाको काममा विवाद उत्पन्न भएको छ । चालू आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित योजनाअन्तर्गत नगरपालिकामा निर्माण हुनलागेको कालोपत्रे सडक र ढल (नाला) निर्माण कार्यमा विवाद देखिएको हो ।

स्थानीयले वर्षातको पानी छेकिने हिसाबले नाला निर्माण र कतै १२ मिटर कतै १५ मिटर सडक बनाएर आफ्ना मान्छेका घर बचाउने अरुका भत्काउने षड्यन्त्र गरेर काम भइरहेको भन्दै निर्माणकार्यमा अवरोध गरेका हुन् । भीमदत्त नगरपालिका ४ दशरथचोकदेखि भगतपुर क्षेत्रमा विवाद देखिएपछि सो क्षेत्रमा काम अघि बढ्न सकेको छैन ।

स्थानीय दुर्गादत्त बोहराले जनताको सल्लाहबिनै हचुवाको भरमा मोटो रकम खर्चिएर कमसल काम गरिरहेको आरोप लगाए । उनले दिगो विकास र नगरकै भविष्यका लागि काम हुनुपर्ने भए पनि कमसल खालको काम भएको दाबी गर्दै स्थानीयका घर डुवान हुनेगरी नाला निर्माण गर्न थालेपछि रोक्नका लागि वडा कार्यालयमा निवेदन दिएको बताए । ‘यत्रो पैसा हामीलाई सधैंभरि आउँदैन’, बोहराले भने, ‘पैसाको सदुपयोग भएको छैन, बरु दुरूपयोग भइरहेको छ, काम पनि गुणस्तरहीन भइरहेको छ ।’

बोहराले डिजायन नै गलत र पूर्वाग्रही भएको दाबी गर्दै जनताको भावना र विभेदकारी योजना भएकाले विवाद उत्पन्न भएको बताए । ‘मालपोत राजमार्ग जोड्ने सडकमा दैनिक मानिसको बढी चाप हुन्छ, त्यहाँ केही मान्छेले नगरविकासको जमिन अतिक्रमण गरेर बसेका छन्’, उनले भने, ‘उनीहरूलाई बचाउन साँघुरो सडक बनाउने अनि भगतपुर क्षेत्रका जनतालाई डुवान पार्ने हिसाबले उचो ढल बनाउने जहाँ जे आवश्यकता हो, त्यहाँ त्यहीअनुरूपको संरचना बनाउनुपर्छ ?’ नालाको उचाइ कम भए स्थानीयले विकास निर्माणको काममा अवरोध नगर्ने उनको भनाइ छ । उनले जनताको चाहनाविपरीतका काम भए स्वीकार्य नहुने बताए ।

यता भीमदत्त नगरपालिका ४ का वडा सदस्य सुशील भट्टले भने उक्त क्षेत्रका अवरोध नभई काम स्थगित गरिएको बताए । स्थानीय जनताले ढलको उचाइ कम गर्नुपर्ने माग अघि सारेको बताए । अन्य ठाँउमा १२ मिटर सडक विस्तार भए पनि सो क्षेत्रका १५ मिटर हुँदा जनता चिढिएको उनको भनाइ छ । भीमदत्त नगरपालिका न्याय समिति सदस्य सन्तोषी साउद(ऐर)ले सडकमा रहेका घरलगायतका संरचना तोडेरै भए पनि काम अघि बढाइने बताइन् ।

भीमदत्त नगरका इन्जिनियर तथा परियोजनाका फोकलपर्सन गोरखबहादुर सिंहले सो क्षेत्रमा विवाद नभएको र काममा पनि कुनै अवरोध नभएको दाबी गरेका छन् । परियोजना सञ्चालनअवागै स्थानीय दुर्गादत्त बोहरा, रतनसिंह ठकुराठी, गोरख ब. चन्द, ओमप्रकाश भण्डारी, कृष्णदत्त भट्ट, डम्बरदेवी कुँवरको समान्य घरका संरचना तोड्नुपर्ने उनले बताए । ‘सबै स्थानीयले सडक र नालामा पर्ने संरचना तोड्न हामीसँग सहमति जनाएका छन्’, उनले भने, ‘उनीहरूको ठूलो क्षति पनि छैन, समान्य पेटी, इँटा र टिणी हटाउनुपर्छ ।’ नाला ठूलो लागेको हुनाले डुवान पर्ने चिन्ताले त्यस विषयमा केही स्थानीयले सुझाव दिएको बताउँदै उनले सो क्षेत्र जहिले डुवान पर्ने बताए ।

‘सबै स्थानीयको घरदेखि हामी पाइप राखेर पानी निकास गछौँ’, सिंहले भने, ‘हरेकको घरमा पानी निकास गरिदिन्छौँ ।’ जेआई लामा कन्स्ट्रक्सन प्रालिले एक अर्ब लागतमा भीमदत्त नगरपालिका ४, ६, १८ क्षेत्रमा १४ किलोमिटरका २३ सडक र २२ किलोमिटर नाला निर्माण गरिरहेको छ । उक्त काम आधुनिक भएको नगरपालिकाले जनाएको छ । विकास निर्माण जनताकै लागि भएकाले विकास निर्माणमा विरोधका लागि विरोध र अनावश्यक राजनीति नगर्न आग्रह गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया