Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘सरकारको नीति मुद्रण उद्योगमैत्री नहुनु दुःखद’

‘सरकारको नीति मुद्रण उद्योगमैत्री नहुनु दुःखद’


काठमाडौं ।
मुद्रण उद्योगीहरुले सरकारको नीति मुद्रण उद्योगमैत्री नहुनु दुःखद भएको बताएका छन् । कोरोनाको महामारीमा थला परेको उद्योगलाई माथि उठाउन सरकारले चासो समेत नदिएको उनीहरुको दुःखेसो छ ।

नेपाल मुद्रण उद्योग महासंघ कर्णाली प्रदेशको प्रथम भेला तथा सुर्खेत मुद्रण उद्योग संघको वार्षिक साधारणसभा तथा अधिवेशनमा सहभागीहरुले मुद्रणका सम्पूर्ण कार्य स्वदेशमा नै गराउन सरकारले नीतिगत निर्णय गरी मुद्रण उद्योगको विकास, विस्तार तथा प्रोत्साहन गर्नु जरुरी रहेको बताए । कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले मुद्रण उद्योग तथा व्यवसायको क्षेत्रमा एकपछि अर्को गर्दै समस्याहरु सिर्जना भइरहेको बताए ।

त्यसको समाधानका लगि व्यावसायिक एकताको आवश्यकता रहेको उनको भनाइ छ । विकास र समृद्धिको लागि स्वदेशी उद्योगको महत्वपूर्ण स्थान रहेको र त्यसका लागि मुद्रण उद्योग तथा व्यवसायको क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले सरकारी स्तरबाट पनि सोहीअनुसारको व्यवहार र भूमिका हुनुपर्नेमा जोड दिए ।

विश्वमा नै मुद्रणकार्यका लागि द्रुतगतिमा भएको प्रविधि विकासलाई नेपाली मुद्रण उद्योगी व्यवसायीहरुले आत्मसात् गरी अगाडि बढ्नसक्नु नेपाली मुद्रण उद्योगजगत्का लागि मात्र नभई देशका लागि नै खुसीको विषय भए पनि सरकारले अहिले पनि निजीस्तरबाट सञ्चालित स्वदेशी मुद्रण उद्योगलाई विश्वास नगरेको उनले गुनासो गरे ।

नेपालमा दक्ष जनशक्ति र मुद्रणमैत्री वातावरणको अभावमा दु्रतगतिमा भएको प्रविधिको विकासले यस क्षेत्रलाई थप चुनौतीपूर्ण बनाउँदै लगेको र प्रविधि र गुणस्तरको दृष्टिले नेपालको मुद्रण व्यवसायले विश्वस्तरमा नै प्रतिस्पर्धा गर्नसक्ने भए पनि मुद्रणका धेरै कार्यहरु अझै पनि विदेशमा गराइरहनु मुद्रण उद्योगी एवं व्यवसायीहरुका लागि चुनौती र चिन्ताको विषय मात्र बनेको नभई राज्यलाई नै नोक्सानी भएको उनको तर्क थियो ।

‘सम्भव भएसम्मका मुद्रणका सम्पूर्ण कार्य स्वदेशमा नै गराउन सरकारले नीतिगत निर्णय गरी मुद्रण उद्योगको विकास, विस्तार तथा प्रोत्साहन गर्नु जरुरी छ’, उनले भने । यसैगरी हाल बजारमा कागज अभाव भएको भन्दै उनले बजारमा कागजको मूल्यमा वृद्धि भएसगै मुद्रण व्यवसायीहरु समेत मूल्यवृद्धि गर्न बाध्य हुने अवस्था सृजना भएको बताए ।

मुद्रण कार्यको मूल्य मुख्य रुपमा कागजको मूल्यमा नै आधारित रहने भएकाले कागजको मूल्यवृद्धिसँगै मुद्रणकार्यको मूल्य समेत स्वतः वृद्धि हुने उनको भनाइ थियो । साथै महासंघले कागज अभावको बहानामा भएको कागजलाई लुकाई कालो बजारी गर्ने सम्भावना समेत रहने कुरालाई औँल्याउँदै मुद्रण उद्योगी तथा व्यवसायीहरुलाई अनावश्यक मौज्दात नराख्न र कागज आयातकर्ता, डिलर तथा खुद्रा बिक्रेतालाई कागज मौज्दात राखी अभाव सृजना खडा नगर्न र उपलब्ध कागज सहज रुपमा बिक्री गर्ने वातावरण सृजना गर्दै सहज आपूर्तिका लागि अग्रसर रहन आग्रह गरेको छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष खोमकान्त रेग्मी, उपाध्यक्ष सीताराम साह, महासचिव युवराज श्रेष्ठ, सदस्य मिना ढकाल, पूर्वउपाध्यक्ष अजय सिंह, उद्योग तथा उपभोक्ता हित संरक्षणका निर्देशक मुकुन्द नाथ योगीलगायतका वक्ताहरुले आफ्ना धारणा राखेका थिए ।

शनिबार सुर्खेतमा आयोजित साधारणसभा तथा अधिवेशनले आगामी दुई वर्षका लागि नेपाल मुद्रण उद्योग महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पञ्चरत्न शर्मा, उपाध्यक्ष हिरामणि चौलागाईं, सचिव सोम ढकाल, कोषाध्यक्ष मोहन खड्का र सदस्यहरुमा दिपेन्द्र उपाध्याय, मिना बुढा, विन्दु नेपाल, श्रीधर पौड्याल, बिन्द्रा गुरुङ, प्रशान्त कार्की, दिनेश खड्का, मान बहादुर खड्का, नगेन्द्र उपाध्याय र सुरेन्द्र रेग्मीलाई चयन गरेको छ ।

यसैगरी सुर्खेत मुद्रण उद्योग संघमा हिमाल नेपाल अध्यक्ष, निम बहादुर बुढा उपाध्यक्ष, टेक बहादुर पहाडी सचिव, देबदत्त पौडेल सह सचिव, कोषाध्यक्ष सबिन गौतम र सदस्यमा राजेश पुन, नकराज जैसी, राजु केसी चयन भएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया