Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘परियोजनाको तयारी नै नगरी लगानी सम्मेलन गर्दा सधैँ असफल’

‘परियोजनाको तयारी नै नगरी लगानी सम्मेलन गर्दा सधैँ असफल’


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरी लगानी सम्मेलन गर्नसके मात्रै फलदायी हुने बताएका छन् । हाल परियोजनाको तयारी नै नगरी लगानी सम्मेलनलगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको उनको भनाइ थियो ।

‘अब हामीले रेडिमेड प्रोजेक्टसहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ’, महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समिति विस्तार कार्यक्रममा उनले भने, ‘देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउनसकेको छैन ।’

महासंघले भारत, चीनलगायतका बाह्य लगानी आउनसक्ने देशका यहाँस्थित दूतावासहरूसँग पनि यस विषयमा छलफल अगाडि बढाएको भन्दै उनले प्रयास परिणाममुखी हुनुपर्नेमा जोड दिए । २०४६ सालको परिवर्तनपश्चात् मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानीसमेत आएको तर त्यो विस्तार भएर जान नसकेको उनको भनाइ थियो ।

‘नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले नाफा पनि राम्रो गरेका छन् तै पनि थप बाह्य लगानी भित्रिनसकेको छैन’, उनले भने, ‘समस्या कहाँ छ त्यसको निक्र्यौल गर्न सरकार तथा निजी क्षेत्रको एकीकृत प्रयासको खाँचो छ ।’ नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी रहेको उनले बताए । बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनुपर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महसुस निजी क्षेत्रले गरेको उनको भनाइ छ ।

कोभिडकै कारण यतिखेर विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको बेला कोभिडपश्चात् नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिलेदेखि नै गृहकार्य गर्न जरुरी रहेको उनले बताए । समितिलाई बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचानसहित महासंघको सुझाव तयार गर्न पनि उनले आग्रह गरे । समितिको कार्यक्षेत्र नै मुलुकभित्र अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन रहेकाले यसमा ठोस उपलब्धि हुने गरी समितिलाई केन्द्रित गर्न सुझाव दिए । अध्यक्ष गोल्छाले वास्तविक लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने गरी समितिलाई तयारी थाल्न पनि अध्यक्षले सुझाव दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालायित छ भन्ने सन्देश दिन समितिले कार्य गर्ने विश्वास आफूले गरेको बताए । ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई आग्रहसमेत गरे । महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा गठित उक्त समितिका सदस्यहरूमा शक्तिकुमार बेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी समितिका सल्लाहकारहरूमा इन्जिनियर देशबन्धु बस्नेत अजित, सुनिल केसी, डा. नारायणप्रसाद रेग्मी र कुमार पन्त छन् भने आमन्त्रितहरूमा सन्दीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, सञ्जय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्ज्वल श्रेष्ठ, गुरु प्रसाद ढकाल, विशाल मणि उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी रहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया