Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभक्तपुर औद्योगिक तथा व्यापार मेला आयोजना हुने

भक्तपुर औद्योगिक तथा व्यापार मेला आयोजना हुने


काठमाडौं ।
भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७/०७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएका हुन् ।

औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारीका अनुसार मेला आगामी चैत २७ देखि वैशाख ७ गतेसम्म १२ दिनसम्म हुनेछ । सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले आयोजना हुनलागेको मेलामा एक सय ५० भन्दा बढी स्टल रहने महतले जानकारी दिए । मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धन गर्ने स्टल रहनेछन् ।

मेलाका संयोजक दीपक थापाले मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिए । मेलामा अटोमोबाइल, अन्तर्राष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहनेछन् ।

मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । साथै मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्यशिविरसमेत सञ्चालन गरिने बताइएको छ । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने अनुमान गरिएको संयोजक थापाले जानकारी दिए । मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने आयोजक मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिए । विगत वर्षमा झैं यस वर्ष पनि क्यान्सर र मिर्गौलापीडित बिरामीलाई आर्थिक सहयोग गरिनेछ ।

मेलामा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडियाघर, बालबालिकाका खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हास्यव्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने बज्राचार्यको भनाइ छ । मेलामा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया