Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपरिसंघद्वारा ‘मेक इन नेपाल–स्वदेशी’ अभियान प्रवर्द्धन गर्न छलफललाई तीव्रता

परिसंघद्वारा ‘मेक इन नेपाल–स्वदेशी’ अभियान प्रवर्द्धन गर्न छलफललाई तीव्रता


काठमाडौं ।
नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई व्यापक बनाउनको लागि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग बृहत् छलफल गरी जागरण अभियानलाई अगाडि बढाउँदै आएको छ । यसैको निरन्तरतास्वरुप परिसंघले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालसँग छलफल गरेको छ ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस अभियानलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोगको अपेक्षा राखेको बताए । अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने बताए । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पु-याउने उनको भनाइ थियो ।

अध्यक्ष मोरले व्यापार सहजीकरणभन्दा औद्योगिक वातावरण सृजना गर्न सरकारले सहजीकरण गर्दै जानुपर्ने बताए । त्यसैगरी आयात प्रतिस्थापन गर्नको लागि उद्योगीहरु सक्षम रहेकोले ऊर्जा क्षेत्रको विकास गरी विशेषगरी उद्योगहरुलाई चाहिने विद्युत् सहज र सस्तो मूल्यमा उपलब्ध गराउन सके आयात प्रतिस्थापन हुने विश्वास गरे ।

छलफलमा निवर्तमान कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीले परिसंघले अभियानले वर्तमान अवस्थामा चुनौतिकोरुपमा रहेको व्यालेन्स अफ पेमेण्टलाई व्यवस्थित बनाउन थप सहज हुने बताए । यो अभियानले लिएको भिजनलाई कार्यमा परिवर्तन गर्नको लागि प्रशासनिक संयन्त्रमा रहेका झमेलाहरुलाई पनि सहज बनाउँदै लैजान सम्बन्धित क्षेत्रबाट प्रतिबद्धताको आवश्यकता रहेको उनको भनाइ थियो । यस अभियानबाट वैदेशिक रोजगारमा जाने जनशक्तिलाई रोक्नु र प्राथमिकताका क्षेत्रहरुको पहिचान गरी त्यस्ता क्षेत्रमा सरकारले अनुदानको व्यवस्था गर्नु पर्ने उनले बताए ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले सरकार र निजी क्षेत्रको स्वदेशी अभियानमा रहेका विभिन्न धारणाहरुलाई छलफलको माध्यमबाट अगाडि ल्याउनु परिसंघको राम्रो पक्ष रहेको बताउँदै सरकारको काम निजी क्षेत्रले गरेकोमा प्रशंसा समेत गरे । उनले रासायनिक मल लगायतका कतिपय उत्पादनहरु स्वदेशमानै उत्पादन गर्न सकिने बताउँदै अर्थ्वेस कन्सट्रक्सन, डण्डी, क्लिंकर लगायतमा आत्मनिर्भर बन्नको लागि सुझाव दिए ।

कृषि र पशुपालनमा पनि त्यत्तिकै संभावना रहेकोले यस क्षेत्रबाट उद्योगलाई चाहिने कच्चा पदार्थ पनि उत्पादन हुने भएकोले यसतर्फ पनि ध्यान पु-याउन सुझाव दिए । छलफलमा परिसंघका उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल, कृष्णप्रसाद अधिकारी, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे लगायतको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया