Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकले टेस्ट ट्युब बेबी सेन्टर सञ्चालनमा ल्याउने

नर्भिकले टेस्ट ट्युब बेबी सेन्टर सञ्चालनमा ल्याउने


काठमाडौं ।
नर्भिक इन्टरनेशनल हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्र्याएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन केन्द्र नै स्थापना गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने तयारी थालेको हो ।

नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्धनिर्देशक मेघा चौधरीका अनुसार नर्भिकले दुई महिनाभित्र छुुट्टै आईभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउनलागेको हो । नेपालकै चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्ट ट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले उपचार सेवा प्रदान गर्नेछ । डा. शर्माका अनुसार नर्भिक अस्पतालको आईभीएफ एण्ड फर्टिलिटी सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय स्वास्थ्य सेवा दिइने योजना बनाइएको डा. शर्माले जानकारी दिइन् ।

यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत सञ्चालन हुनेछ । नेपालमा हालसम्म कुनै पनि आईभीएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा सञ्चालनमा आउनसकेको छैन । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण हुने चिकित्सकको भनाइ छ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाडौंका विभिन्न अस्पतालसँग आबद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसकेकी छन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्री रोग, प्रसूति सेवाका साथै निःसन्तान दम्पतीहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ ।

परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनावलगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात् निःसन्तानसम्बन्धी समस्या विकराल बन्दै गएको छ । बढ्दो उमेर, ढिलो विवाह, धूमपान तथा मादक पदार्थको सेवन, यौनसम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्यालगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया