Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहाकाली अस्पतालको चमेना गृह ठेक्कामा बदमासी

महाकाली अस्पतालको चमेना गृह ठेक्कामा बदमासी


कञ्चनपुर ।
महाकाली अस्पतालको चमेना गृह (खाजाघर) अस्पतालमै कार्यरत कर्मचारीको परिवारलाई सञ्चालनका लागि ठेक्का दिलाउन सेटिङ भएको पाइएको छ । अस्पतालपरिसरमा चमेना गृह सञ्चालनका लागि टेन्डर आह्वान गरे पनि अस्पतालका निमित्त मेसु हरिकुमार श्रेष्ठकै सेटिङमा अस्पतालमा कार्यरत कर्मचारीकै परिवारलाई चमेना गृहको ठेक्का दिलाइएको हो ।

१० फागुनमा चमेना गृह सञ्चालनका लागि टेन्डर आह्वान गरिएको थियो । ११ जनाले व्यक्तिगत तथा संस्थागतरुपमा टेन्डर खरिद गरेका थिए । उक्त टेन्डर अस्पतालकै कर्मचारी वीरेन्द्र चन्दकी श्रीमती पूजा पालले पाएकी छिन् । उनले अस्पताललाई चमेना गृह चलाएबापत मासिक ३१ हजार पाँच सय ६० रुपैयाँ बुझाउने कबोल गरेकी थिइन् । तर उनकोभन्दा बढी भाडा मासिक ३२ हजार सात सय ७५ रुपैयाँ कबोल अंक राखेर टेन्डर खरिद गरेका भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका किरणप्रसाद बोगटीले उक्त टेन्डर पाएनन् । बढाबढीमा जसले बढी रकम राखेका हुन्छन् उसैले ठेक्का पाउने नियम भए पनि अस्पतालका निमित्त मेसु हरिकुमार श्रेष्ठले सेटिङ गरेकाले बोगटीले पेस गरेको एक प्रमाणपत्र फाइलबाटै गायब गराएर आफ्नै कर्मचारीलाई चमेना गृहको ठेक्का दिलाएका छन् ।

बोगटीले पालको भन्दा बढी अंक र संस्थागतरुपमा उनले मञ्जु रेमिटको समेत प्रमाणपत्र पेस गरेका थिए । ‘मैले सबैभन्दा बढी कबोल अंक राखेको थिए’, किरण बोगटीले भने, ‘टेन्डर खोल्दा पनि मलाई चमेना गृह सञ्चालन गर्ने टेन्डर तपाईंकै सदर भएको भन्दै कर्मचारीले बधाई दिए, तर अन्तिममा अर्काकै नाममा टेन्डर पारियो ।’ बोगटीले कार्यालयले मागअनुरुप सबै प्रमाणपत्र पेस गरेको भन्दै उनले भान्से शिवराज भट्ट र वेटर शुनिल चौधरीको तीन वर्ष अन्य होटलमा काम गरेको अनुभव राख्दा पनि आफूलाई टेन्डर नदिनका लागि कर्मचारीको अनुभवको प्रमाणपत्र नै आफ्नो फाइलबाट गायब गरिदिएको बताए ।

समान्य चमेना गृहको टेन्डरमा समेत कमिसन लिने कर्मचारीले अस्पतालभित्र करोडौँका संरचना निर्माण, कर्मचारी भर्ना र लाखौँको औषधि खरिदमा मोटो रकम कमिसन लिएकै कारण भेन्टिलेसन सञ्चालनमा नआउँदै बिग्रिएको दाबी गरेका छन् । बोगटीले टेन्डरमा घोटाला र अनियमितता, कमिसनको खेल भएकाले टेन्डर बदर गर्नका लागि अस्पतालमा निवेदनका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । ‘सानो योजनामा समेत आफ्नै कर्मचारीको परिवारलाई टेन्डर दिलाउन अनेकन हतकण्डा गरेको देखियो’, बोगटीले भने । चमेना गृह सञ्चालनका लागि बोगटी पालसहित महेन्द्रनगरको चर्चित होटल गंगोत्री, रमेश चन्द, प्रकासचन्द्र पन्त, जोगासिंह धामी, हर्कबहादुर चन्द, शुशिला चन्द, महेन्द्र जोशीले टेन्डर किनेका थिए ।

महाकाली अस्पताल सधैँ अनियमितताका घटनाहरु सार्वजनिक हुँदै आएका छन् । गतवर्ष अस्पतालको भेन्टिलेटर खदिरमा बदमासी भएकै कारण ठेकेदार कम्पनीले पुराना समान दिएको थियो । यस्तै आइसोलेसनमा सुरुमै दोयम इँटा प्रयोग गरेको थियो । अस्पताल कर्मचारी स्रोतका अनुसार अस्पतालमा औषधि खरिद, कर्मचारी भर्नादेखि ठूला टेन्डर हुँदा मेसुले कमिसन नदिँदासम्म कामै नगरिदिने गरेका छन् ।

जसले कमिसन दिँदैन उसको कामै नहुने प्रवृत्तिबाट सहकर्मी नै हैरान भएका छन् । अस्पतालमा नयाँ व्यवस्थापन समिति आएसँगै अस्पताल सुधार भए पनि अर्कातिर मेसुले कमिसनको दाउमा अस्पताल नै धरापमा पारेको नागरिक समाजको बुझाइ छ । चमेना गृह र अस्पताल प्रशासनका कामकाजप्रति व्यवस्थापन समिति समेत रुष्ट रहेको छ । अस्पताल व्यवस्थापन समितिलाई बाहेस गरेर मेसुले कमिसनका लागि गर्ने गतिविधिले अस्पताल कमिसनको चुङ्गोलमा फसेको समितिको ठहर छ ।

अस्पताल व्यवस्थापन समितिले सुधार भइरहेका बेला मेसुका गल्ती कोट्याउँदा डाक्टरमाथि जाइलागेको जस्तो देखिने भएकाले चुपचाप बस्नुपरेको र चमेना गृहको विवाद प्रकरणबारे समितिले अस्पताल प्रशासनसँग बुझ्ने जनाएको छ । चमेना गृहको ठेक्का पाएका पूजापालको फाइलमा कर्मचारी वीरेन्द्र चन्दको नम्बर रहेको छ । उक्त नम्बरमा सम्पर्क गर्न खोज्दा आफू अस्पतालको कर्मचारी भएको तर, मेडम नभएको बताए । यसबारेमा पटक–पटक महमकाली अस्पतालका मेसु डा. हरिकुमार श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनी कहिले बैठक कहिले अप्रेसनकक्ष भन्दै बोल्न नै चाहेनन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया