Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरेसलिङ खेलाडी खत्री मौरीपालनमा

रेसलिङ खेलाडी खत्री मौरीपालनमा


कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ बनखेतमा बस्दै आएका रेसलिङका खेलाडी नरेन्द्रसिंह खत्री अहिले मौरीपालन व्यवसायमा जुटेका छन् । विगत आठ वर्षदेखि खत्री मौरीपालन व्यवसायमा जुटेका हुन् । पाँच घारबाट सुरु गरेका खत्रीले हाल एक सय घार मौरी पालेका छन् । युरोपिएन मेरिफेरा जातको मौरी पालेका उनले मौरीलाई घुम्ती रूपमा पालिरहेका छन् ।

दार्चुलादेखि कञ्चनपुरका विभिन्न ग्रामीण बस्तीहरूमा घार स्थानान्तरण गर्दै उनी आधुनिक तरिकाबाट मौरीपालनमा जुटेका छन् । ‘जहाँ–जहाँ फूल महर हुन्छ, उतै मौरी चराउन लैजान्छु’, खत्रीले भने, ‘यो एक अतभूत प्राकृतिकरूपमा महत्वपूर्ण कृषि पेसा हो ।’ राष्ट्रका लागि किसान बनेर शुद्ध मह उत्पादनको कार्यमा जुटेको खत्रीको भनाइ छ । उनले सुपर घारमै मौरी पालेका छन् ।

वार्षिक पाँ/छ कुण्डल मह उत्पादन गर्दै आएका खत्रीले महबाटै लाखौँ आम्दानी गरेका छन् । ‘मैले खेल राष्ट्रकै लागि खेलेको थिएँ’, उनले भने, ‘मौरीपालन पनि राष्ट्रकै लागि केही योगदान दिनुपर्छ भनेर रोजेको हुँ । यसबाट अथाह पैसा कमाउन नसके पनि शुद्धरूपमा मानव स्वास्थ्यका लागि चाहिने मह उत्पादन गरेको छु ।’ जैविक विविधतामा मौरीको महत्वपूर्ण योगदान एवं मौरीको मिहिनेत इमानदारिता मानिसका लागि प्रेरणाको स्रोत हुने उनको भनाइ छ । सुदूरमा मौरीपालन व्यवसायको प्रर्याप्त सम्भावना रहेको उनले बताए ।

मौरीपालन चुनौतीपूर्ण कृषि पेसा भएकाले पौष्टिक तत्वका लागि मह महत्वपूर्ण वस्तु हो ।, उनले भने, ‘मौरीपालन व्यवसायबाट युवा बेरोजगारी समेत घटाउन सकिन्छ । मदिरा उत्पादनदेखि समाजका लागि हानिकार वस्तु उत्पादनभन्दा स्वास्थ्य र मानव जगतकै लागि महको बेग्लै महत्व छ । मौरीबाट मानिस पनि कर्मी बन्नुपर्छ ।’

कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले मौरीपालन व्यवसायमा पनि प्रर्याप्त सम्भावना भएको बताए । उनले मौरीजस्तै कर्मी भनेर जुटेका किसानलाई सरकारी क्षेत्रबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । नरेन्द्रसिंह खत्री पहिला दार्चुला जिल्ला खेलकुद विकास समितिमा रेसलिङका प्रशिक्षक थिए । गृहजिल्ला दार्चुलाबाटै खेलकुद क्षेत्रमा प्रवेश गरेका खत्रीले फेरि दार्चुलामै रेसलिङ प्रशिक्षक भएर काम गर्ने अवसर पाएका थिए । पछि उनी कैलाली जिल्ला खेककुद विकास समितिमा सरुवा भएर आएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया