Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने


काठमाडौं ।
काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । यही गतिमा काम हुँदा अबको एक महिनामा सम्पन्न गर्न सकिने डिभिजन प्रमुख कुवेर नेपालीले बताए ।

उनका अनुसार अर्काे दिशामा भने एउटा घरका कारण निर्माणमा ढिलाइ भएको छ । घरधनीले मुआब्जा रकममा उपभोग क्षेत्रका आधारमा माग गरेका छन् । त्यो घरबाहेक अन्यत्र काम गर्न समस्या नभएको उनले बताए । उनले भने, ‘त्यो घरको पनि सहमति भएपछि दुई महिनासम्ममा सकिनेछ ।’

यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ । सडक कार्यालयले निर्माण सुरु गर्नुभन्दा पहिले सडकका दुवैतर्फको निर्माणस्थल खाली गरेको थियो । देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ । यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिएको थियो । कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तरतर्फ) एक लेन र दाहिने (दक्षिणतर्फ) दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ ।

विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तार गर्न बाटो खुलेको हो । सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्रीसहितको पैदल यात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ । त्यसपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् ।

चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने रोकिनुपर्नेछैन । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना रहेको डिभिजनले जनाएको छ । यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारी चालक हैरान थिए । तीनकुनेबाट कौशलटारसम्म नै जाम हुँदा नागरिकलाई केही किमि यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो । अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीन रुपमा यसको समाधान ‘फ्लाई ओभर’ भएको सडक विभागले बताउँदै आएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया