Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदलित बस्तीका घर–घरमा खानेपानीका धारा

दलित बस्तीका घर–घरमा खानेपानीका धारा


दोलखा ।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका २५ दलित घरपरिवारले अब सहजरुपमा खानेपानी उपभोग गर्न पाउनेभएका छन् । उनीहरुको घर–घरमा गाउँपालिकाले खानेपानीका धारा निर्माण गरिदिएको छ । गाउँपालिका अध्यक्ष छवि लामाले उक्त घरपरिवारलाई धारा हस्तान्तरण गरेका छन् । मुहान टाढा हुँदा खानेपानीको समस्या झेल्दै आएका उनीहरु घर–घरमा पानी आउन थालेपछि दङ्ग परेका छन् ।

वडा नम्बर ६ नाम्दुको सिरवानी गाउँमा खानेपानीको पहुँच पु-याउन गाउँपालिका र एक सामाजिक संस्थाले चासो दिएको थियो । खानेपानी योजना गाउँमा लैजान वडाको तीन लाख अनुदान, गाउँपालिकाको एक लाख ५० हजार र सगुन सोसियल अर्गनाइजेसन नेपाल नामक संस्थाको करिब दुई लाख ५० हजार आर्थिक सहयोगमा खानेपानी विस्तार गरिएको वडाध्यक्ष सम्शेर घिसिङले जानकारी दिए ।

खानेपानी सञ्चयको लागि १३ हजार घनमिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । बस्तीमा सगुन सोसियल अर्गनाइजेसनले २५ वटा धारा निर्माण गरिदिएको संस्थाका अध्यक्ष झलक तामाङले बताए । स्थानीय हरि नेपालीले आँगनमै खानेपानीको धारा ल्याइदिएर गाउँपालिका र सहयोगी संस्थाले उदाहरणीय कार्य गरेको बताए ।

घन्टौँ लाइन बसेर पानी ल्याउनुपर्ने बाध्यताको ढिलै भए पनि अन्त्य भएको उनले बताए । खानेपानी पहुँच घरआँगनमै आइपुगेकाले अब प्रयोग भएर फालिएको पानीले करेसाबारीमा तरकारी लगाएर हरियाली बनाउने र दुई/चार पैसा आम्दानी गर्ने सोचमा आफूरहेको उनले बताए । त्यसैगरी सोही वडाका विष्णु नेपालीले गाउँमा पानी नहँुदा पशुचौपायलाई दिन र सरसफाइ गर्न निकै समस्या रहँदै आएको र अब सो समस्याको समाधानसँगै गाउँ पनि सफा हुने बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया