Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘सेल्फी विथ डटर्स’ मुभमेन्टले नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउने अपेक्षा

‘सेल्फी विथ डटर्स’ मुभमेन्टले नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउने अपेक्षा


काठमाडौं ।
लैङ्गिक समानताका लागि भारतीय सुनिल जागलनले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डटर’ तथा ‘डटर्स नेम प्लेट’ले भारतमा धेरै ख्याति कमायो । महिला सशक्तीकरण तथा लैङ्गिक समानताको मूल मर्म बोकेका यी दुई अभियानलाई हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्वराष्ट्रपति प्रणव मुखर्जीको फाउण्डेसनले समेत अगाडि बढाइरहेका छन् ।

नेपाल र भारतबीच पहिलेदेखि नै दरिलो सम्बन्ध रहिआएको कारण दुई मुलुकबीच एक अर्काले उठाउने नारा तथा अभियानले एकअर्कोमा संस्कृतिक परिवर्तन ल्याउन सघाउ पु-याउँदै आइरहेको छ । यही कुरा मध्यनजर गर्दै अब नेपालले पनि यी दुई अभियानलाई औपचारिक रुपमा अगाडि बढाउने भएको छ । यसबीच हालै नेपाल इन्टरनेट फाउण्डेसनका संस्थापक अध्यक्ष बिक्रम श्रेष्ठ र सेल्फी विथ डटर्स, भारतका निर्देशक सुनिल जागलनबीच गत शुक्रबार सम्झौतामा हस्ताक्षर भएको छ । उक्त अवसरमा सुनिल जागलनले सुरु गरेका ती दुवै महत्वपूर्ण अभियानलाई नेपालीहरुले पनि उत्तिकै रुचाएको र यस कुरालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पूर्वराष्ट्रपति प्रणव मुखर्जीले समेत प्रशंसा गरेका थिए ।

डटर्स नेम प्लेट अभियानलाई हाल हरियाणालगायत भारतका विभिन्न राज्यहरुले समेत अगाडि बढाइरहेका छन् । दुवै अभियानबाट प्रभावित भएपछि फाउण्डेसनका संस्थापक श्रेष्ठले सर्पञ्च सुनिल जागलनलाई आफैँ भेटेर सम्झौता हस्ताक्षर गर्दै दुवै अभियानलाई नेपालमा पनि यहीँको नियमभित्र बसेर अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका हुन् । फाउण्डेसनले अभियान अगाडि बढाउने क्रममा विभिन्न सिरिज इभेन्ट समेत आयोजना गरेर लैजाने संस्थापक श्रेष्ठले जानकारी दिए ।

नेपाल इन्टरनेट फाउण्डेसन अर्थात् एनआईएफले समाज, सामग्री, अनुसन्धान तथा प्रविधिका क्षेत्रमा भएका खाडललाई पुर्ने अवधारणा तथा कार्यक्रमहरुलाई समर्थन गर्दै आइरहेको छ । फाउण्डेसनले इन्टरनेट तथा सञ्चारको प्रयोगलाई बढाउन विभिन्न व्यक्ति, समुदाय, सरकार, गैर तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायतसँग मिलेर काम गरिरहेको छ । साथै यसले इन्टरनेट गभर्नेन्स, डिजिटल शिक्षा तथा सामाजिक सशक्तीकरणका लागि योगदान समेत दिँदै आइरहेको छ ।

हाल फाउण्डेसनले यी दुई अभियानमार्फत देशमा महिलाहरुको सशक्तीकरणलाई बढाउने उद्देश्य लिएको छ । नेपालमा पनि जुन ९ लाई सेल्फी विथ डटर डेका दिनमा मनाउन श्रेष्ठले सुनिल जागलन र उनको टिमलाई निमन्त्रणा दिएका छन् । नेपालमा पनि यो अभियान निकै लोकप्रिय हुने श्रेष्ठको भनाइ छ । नेपालमा यो अभियानलाई वुमन आन्ट्रप्रेनर्स असोसिएसन नेपाल र जेसीआई बूढानीलकण्ठले सहयोग गर्ने बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया