Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्लान नेपालद्वारा २४ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

प्लान नेपालद्वारा २४ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं ।
कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा संक्रमितको उपचारमा सहयोग पु-याउने उद्देश्यले प्लान नेपालले २४ लाख बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्लान नेपालले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो सामग्री हस्तान्तरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित एक समारोहमा प्लान नेपालका संयोजक जनक गिरीले प्रमुख जिल्ला अधिकारी गेलाललाई हस्तान्तरण गरेको सो सामग्री प्रजिअले भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापालाई हस्तान्तरण गरे ।

उपलब्ध गराइएका सामग्रीहरुमा पीपीई पाँच सय ५० सेट, सर्जिकल मास्क, एन९५ मास्क, सेनिटाइजरका बोतल तथा जारहरु, थर्मोमिटर, सर्जिकल ग्लोब्स, फेसशिल्ड, स्प्रे ट्यांक र डिगनीटी किट गरेर २४ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका सामानहरु छन् ।

प्रमुख जिल्ला अधिकारी गेलालले संक्रमित एक्कासि ठूलो संख्यामा बढेकोले समस्या भएको जनाउँदै तर अहिले आएर चारैतिरबाट सहयोग प्राप्त हुनथालेकोले केही राहत महसुस भएको बताए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सञ्चालन गरेको सो कार्यक्रममा प्लान नेपालका संयोजक गिरीले प्लानले कोभिडविरुद्धको अभियानमा गैरसरकारी संस्थासँग मिलेर अस्पताललाई सहयोग गर्दै यो लडाइँमा ऐक्यबद्धता जनाएको बताए ।

सो अवसरमा बाँकेका प्रहरी प्रमुख एसपी ओम राना, सशस्त्र प्रहरीका एसपी अशोक बम, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया