Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअस्पतालमा बेड र अक्सिजन पाउन पनि सोर्सफोर्स !

अस्पतालमा बेड र अक्सिजन पाउन पनि सोर्सफोर्स !


कञ्चनपुर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ फुलेलीका अमृत कुमार ऐरलाई १३ गतेबाट ज्वरो आयो । सामान्य रुघाखोकी तथा ज्वरो आएको उनलाई तीन/चार दिनसम्म ज्वरोले निकै सताएपछि झलारी बजारस्थित मेडिकलमा चेकजाँच गराउँदा उनलाई टाइफाइट निस्कियो । टाइफाइटको औषधि खाएर पनि निको नभएपछि १७ गते बिहान कृष्णपुर नगरपालिका गुलरियामा गएर उनले पीसीआर टेष्ट गराए ।

पीसीआर टेष्ट गराएका उनको २४ गते कोरोना पोजेटिभ रिर्पोट आयो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि भन्दै महाकाली अस्पताल ल्याइयो । अस्पताल अबेर पुगेका उनलाई शुक्रबार राति इमरजेन्सी कक्षमा भर्ना गर्नका लागि उनका आफन्तले टिकेट काट्न गए पनि आफन्तले भने टिकट काट्न पाएनन् । अस्पतालका कर्मचारीले उनलाई राति आएको भन्दै टिकट काउन्टरबाट टिकट दिन अटेर गरेको उनका अफान्तले गुनासो गरे ।

‘शुक्रबार मेरो श्रीमान्को रिपोर्ट पोजेटिभ आएको थियो, रिपोर्ट पोजेटिभ आएको थाहा भएपछि अस्पताल पुग्दा राति ७ बजिसकेको थियो’, अमृतकी श्रीमती मिना बोहरा ऐरले भनिन्, ‘अस्पतालमा चेकजाँच गराउनको लागि टिकट काउन्टरमा गए पनि काउन्टरबाट भने टिकर नदिई हप्काएर पठाइदियो ।’ श्रीमान्लाई अक्सिजन लगाउनुपर्ने आवश्यक भएपछि उनले डाक्टरसँग अक्सिजनसहितको बेडका लागि आग्रह गरिन् तर उनको कुरा कसैले सुनेनन् । त्यसपछि उनले श्रीमान्लाई थप उपचारको लागि धनगढी निसर्ग अस्पतालमा लगिन् ।

निसर्गमा पनि बेड नपाएपछि पुनः महाकाली अस्पतालमा नै फर्किनुपरेको मिनाले बताइन् । उनका अनुसार अस्पतालका डाक्टरले एम्बुलेन्सबाट बिरामीलाई उतार्नै मानेनन् । अस्पतालले बेड भए पनि उपलब्ध गराउन नमानेको उनको गुनसो छ ।

‘धनगढीबाट फकिएर साढे ११ बजे महाकाली अस्पताल पुगेका हामीले बिरामीलाई १२ बजेसम्म एम्बुलेन्समै राख्नुप-यो, डाक्टरसँग आग्रह गर्दा पनि नसुनेजस्तो गर्ने ।, अक्सिजन लगाउनुपर्ने भएकाले सोर्सफोर्स लगाउनुपर्ने अवस्था थियो, सिडियोसाबसँगको कुराकानीपछि मात्रै डाक्टर बिरामी हेर्न आए’, उनले भनिन् । राति अबेरपछि अस्पतालमा बेड पाएका उनीहरूले अक्सिजन पाएनन् । उनीहरूलाई अर्को बेडवालाले अक्सिजन बाँढेर दिए पनि डाक्टरले भने अक्सिजन बाँढेर लगाउन नदिएको उनले गुनासो गरिन् ।

बिरामीको विस्वास गुमाउँदै अस्पताल : महाकाली अस्पतालमा दैनिक सरदर एक सय ५० जनासम्मले कोरोना टेष्ट गर्न पाउँछन् । कोरोना टेष्टपश्चात् संक्रमित हुने बिरामीले भने दुःख पाउने गरेका छन् । अस्पतालमा अक्सिजन र बेड अभाव हुनथालेपछि संक्रमित बिरामी समस्यामा पर्नेगरेका छन् ।

यस साता अक्सिजन नपाएकै कारण दुई जना शिक्षकको मृत्यु समेत भएको थियो । अस्पतालमा अहिले ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको अवस्था छ । अस्पताल ५० शय्या क्षमताको भए पनि अस्पतालमा अहिले बिरामीको चाप एकदमै बढी छ । अस्पतालमा बिरामीको संख्या बढ्दै गएपछि अस्पतालमा अक्सिजन अभाव हुँदै गएको अस्पतालले जनाएको छ ।

अस्पतालले विगतमा ३० सिलिन्डर एक दिनमा खपत गर्ने गरेको थियो । अहिले अस्पतालसँग एक सय १२ सिलिन्डर भए पनि बिरामीले भने अक्सिजन अभावको समस्या खेप्नु परेको छ । महाकाली अस्पताललाई संघसंस्थाले दैनिक ८० वटा अक्सिजन सिलिन्डर सहयोग गर्ने गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया