Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनिजी क्षेत्रसँगको सहकार्यमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन

निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन


काठमाडौं ।
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता र अतुलनीय सामाजिक–साँस्कृतिक बहुलताबाट प्राप्त पर्यटकीय सम्भावनाको उपयोग गरी नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताए ।

सन्दकपुर, धनुषाधाम, इन्द्रसरोवर, पञ्चासे, निग्लिहवा, कुपिण्डे दह र भादागाउँ लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरिने उनले जानकारी दिए । मुक्तिनाथ क्षेत्रको आनी गुम्वा र कागवेनीको पिण्डस्थान पुननिर्माण, काठमाण्डौ उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग, हाइकिङ डेस्टिनेसन एवम् साइक्लिङ्ग ट्रेल निर्माण, फेवाताल वरिपरि वातावरण मैत्री साइकल सर्किट निर्माण तथा दार्चुलादेखि ताप्लेजुङ्गसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उनले बताए ।

चुरे तथा महाभारत श्रृङ्खलाका सम्भाव्य स्थानमा होटल, मोटल, रिसोर्ट लगायत शितल आवास निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने बजेटमा उल्लेख छ । रारा, शे–फोक्सुण्डो ताल, खप्तड लगायत प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न बजेट व्यवस्था गरेको अर्थमन्त्री पौडेलले बताए ।

यस्तै तल्लो डोल्पा, हुम्लाको सिमीकोट, धादिङ्गको रुबीभ्याली, दोलखाको रोल्वालिङ्ग, ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोला लगायतका क्षेत्रमा पदयात्रा मार्ग निर्माण गर्ने, पदयात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा तथा उद्धारका लागि जिपिएस ट्र्याकिङ्ग सहितको एकीकृत पर्यटन सूचना प्रणाली कार्यान्वयनमा ल्याइने, इलामको माइपोखरी, सुनसरीको बर्जु ताल, कपिलवस्तुको जगदीशपुर ताल, पाल्पाको सत्यवती ताल, रुकुमको स्यार्पु ताल, कैलालीको बेहेडाबाबा ताल लगायतका महत्वपूर्ण तालको संरक्षण एवम् सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने अर्थमन्त्री पौडेलले बताए ।

यसैगरि माउण्टेनियरिङ्ग, बन्जीजम्पिङ्ग, रकक्लाइम्बिङ्ग, -याफ्टिङ्ग, प्याराग्लाइडिङ्ग, जिपलाइन, कायाकिङ्ग लगायतका साहसिक पर्यटन प्रवर्द्धन गरि यस क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने बजेटमा उल्लेख गरिएको छ ।

स्थानीय तह र निजी क्षेत्रको समन्वय एवम् सहकार्यमा कृषि पर्यटन, पर्या–पर्यटन, हिमालयन योगा पर्यटन, उच्च उचाई खेल पर्यटन, शैक्षिक पर्यटन र सम्मेलन पर्यटन प्रवर्द्धन गरिने भएको छ । प्रदेश र स्थानीय तहको लागत साझेदारीमा २ सय १६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन ५९ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।

सिमरौनगढ, मकवानपुरगढी, सिन्धुलीगढी, जितगढी लगायत ऐेतिहासिक गढी–किल्लाको संरक्षण र विकास गरिने, धार्मिक–सांस्कृतिक तथा सिमसार क्षेत्रमा परिपथ निर्माण गर्न विस्तृत अध्ययन गरिने बजेटमा उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ २७ अर्ब ४७ करोड विनियोजन गरिएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया