Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविपत्मा जनतासँग जोडिन ‘बीपी विपत् कोष’

विपत्मा जनतासँग जोडिन ‘बीपी विपत् कोष’


कास्की ।
कास्की कांग्रेसले ‘बीपी विपत् कोष’ निर्माण गर्ने भएको छ । कोरोना महामारीसँगै आगामी दिनमा हुनसक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित उक्त कोष निर्माण गर्न लागिएको कास्की कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा कोष निर्माण गर्ने निर्णय गरेको पार्टीका सभापति कृष्ण केसीले जानकारी दिए । पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वैच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने उनले जानकारी दिए ।

कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजारभन्दा बढी परिचालित हुने बताउँदै उनले यसका लागि पार्टीको क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका सबैलाई जुट्न आह्वान गरिएको बताए ।

कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार कोषको सञ्चालन र व्यवस्थापनका लागि एउटा छुट्टै समिति बनाइने भएको छ । विपत्का बेला कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले कास्कीका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भ्रातृ संस्था र उद्योग–व्यवसायीसँग छलफल गरेको उनले जानकारी दिए । उनका अनुसार अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई सहयोग गर्ने उद्देश्यले कोष निर्माण गर्न लागिएको हो ।

त्यस्तै, कोरोना संक्रमणपछि मृत्यु भएका अति विपन्न परिवारलाई क्रिया खर्चका लागि सहयोग गर्ने, औषधिको अभावमा रहेका दीर्घरोगीलाई औषधि सहयोग गर्ने र भदौ २४ गते बीपी जयन्तीको दिन अतिविपन्न, दलित र अपाङ्गता भएका एक हजार जनालाई सहयोग गर्नेलगायत निर्णय गरेको प्रवक्ता सिग्देलले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया