Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय

महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय


कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो । यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो ।

कञ्चनपुरका प्रदेशसभा सदस्य लालबहादुर खड्का सामाजिक विकासमन्त्री भएपछि महाकाली अस्पताललाई प्रादेशिक बनाइएको हो । मन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रादेशिक बनाउने निर्णय गरेको हो । अघिल्लो हप्ता मन्त्री भएका खड्काको महाकाली अस्पताल बनाउने यो पहिलो निर्णय हो ।

मन्त्री खड्काले महाकाली अस्पताल पनि सेती अस्पतालकै हैसियतमा आएको बताए । महाकाली अस्पताललाई प्रादेशिक बनाउन महाकाली अस्पताल व्यवस्थापन समितिले सुरुदेखि प्रदेशसभा सदस्यलाई दबाब दिँदै आएको थियो । त्यसलाई सम्बोधन गरिएको मन्त्री खड्काले बताए ।

महाकाली प्रादेशिक अस्पताल भएपछि सेती अस्पतालझै सेवा सुविधा विस्तार, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माणलगायतका कार्य हुनेछन् । प्रदेश सरकारको निर्णयपछि सुदूरपश्चिममा महाकाली र सेती दुई प्रादेशिक अस्पताल भएका छन् । यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीको टीकापुरलाई उपप्रादेशिक अस्पताल बनाएको थियो । महाकाली अस्पताललाई टीकापुरसरह उपप्रादेशिक बनाउन प्रदेश सरकार इच्छुक देखिएको थियो । महाकाली अस्पताल व्यवस्थापनले उपप्रादेशिकमा विमति राखेपछि महाकाली अस्पताल बनाइएको थियो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले प्रादेशिक बनाउनुपर्ने माग सम्बोधन गरिएको बताए । उनले भने, ‘प्रादेशिक बनाउनुपर्ने माग विगतदेखि राख्दै आएका थियौँ । यसपटक मन्त्रीले माग पूरा गरिदिनुभयो ।’ अध्यक्ष जोशी प्रदेश र संघीय सरकारसित समन्वय गरी महाकाली अस्पताल सुधारमा लागेका छन् । चिकित्सक नहुने अस्पतालमा अहिले विशेषज्ञसहित २८ जना कार्यरत छन् । वि.सं. २०३४ मा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्थापना गरिएको महाकाली अञ्चल अस्पताल विसं २०४३ मा अञ्चल अस्पताल बनेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया