Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयोगदान राष्ट्रको नामक संस्थाद्वारा स्वास्थ्यसामग्री सहयोग

योगदान राष्ट्रको नामक संस्थाद्वारा स्वास्थ्यसामग्री सहयोग


दोलखा ।
दोलखाका विभिन्न स्वास्थ्य संस्थालाई योगदान राष्ट्रको नामक संस्थाले ६५ लाखबराबरको अक्सिजन उपकरणसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । योगदान राष्ट्रको लागि दोलखाले अस्पताल र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए ।

बोधिसत्व विहारसँगको सहकार्यमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो । उक्त संस्थाले दोलखा पाँचवटा स्थानीयतहमा रहेको दर्जन बढी स्वास्थ्य केन्द्रलाई सहयोग गरेको संस्थाका सचिव विनोद जिरेलले जानकारी दिए । संस्थाले भीमेश्वर नगरपालिकाको चरीकोट अस्पताललाई १० लाख बराबरको अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री सहयोग गरेको छ भने जिरी अस्पताललाई छ लाखबराबरको अक्सिजन उपकरणसहितकै स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

त्यसैगरी बैतेश्वर गाउँपालिका बैतेश्वर अस्पताल र क्षत्रपा स्वास्थ्य केन्द्रलाई १७ लाखबराबरको सामग्री सहयोग गरेको जिरेलले जानकारी दिए । त्यस्तै संस्थाले गौरीशंकर गाउँपालिकाको जुंगु स्वास्थ्य केन्द्रलाई चार लाखबराबरको सामग्री र कालिञ्चोक गाउँपालिकाको सिंगटी अस्पताललाई सात लाखबराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । संस्थाले चरीकोट अस्पतालमा दुई थान, बैतेश्वर गाउँपालिकामा पाँच थान, जिरी अस्पताल दुई थान र सिंगटी अस्पताल दुई थान गरी १२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

यो अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने हुँदा ग्रामीण भेगमा रहेका स्वास्थ्य केन्द्रमा धेरै महत्व रहेकाले सहयोग गरेको संस्थाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया