Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोभिड संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग आवश्यक

कोभिड संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग आवश्यक


काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग आवश्यक रहेको बताएकी छिन् । नेपाल उद्योग परिसंघअन्तर्गतको सीएनआई सीईओ फोरमले आयोजना गरेको ‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेतृत्वको भूमिका’ विषयमा भर्चुअल अन्तक्र्रियामा उनले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेकोले महिलाहरूलाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुँजी र बजारको खोजीमा सहयोग गर्नुपर्ने बताइन् ।

साथै उनले कोभिडको कारण महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू थप जोखिममा परेको बताइन् । कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवं बालबालिका पर्नथालेको उनको भनाइ थियो । यस्तै महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउनेसम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य वन्दना राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू नै रहेको बताइन् ।

साथै अनौपचारिक क्षेत्रमा काम गर्नेको महिलाको अवस्था अझै भयावह रहेको उनको भनाइ थियो । उनले कोडिसँग जुध्न अग्रपंक्तिमा खट्ने जनशक्तिमा महिलाको संख्या ठूलो भए पनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको उल्लेख गरिन् । ‘अहिलेको संकटमा सबैको ध्यान नागरिकको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्छ,’ उनले भनिन्, ‘नागरिकहरूलाई परेको संकट, भविष्यमा आइपर्ने समस्या र त्यससँग जुधेर अघि बढ्न पर्याप्त तयारी नेतृत्व तहबाट हुनुपर्छ । अहिले भएका कामहरूको अभिलेख राम्रोसँग व्यवस्थापन गरेर भविष्यमा थप काम गर्नुपर्छ ।’

यसैगरी युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताइन् । उनले कोभिडका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औँल्याइन् । ‘हामीले संस्थागत उत्तरदायित्वमा ध्यान दिनुपर्छ, अहिलेको बेला सबैले एकजुट भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ’, उनले भनिन्, ‘यो महामारी हो, कहिले सकिन्छ भन्न सकिँदैन, जहिलेसम्म यो रहन्छ हामीले संस्थागत उत्तरदायित्व बहन गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ ।’

कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं सीएनआई सीईओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीले अहिले सबैले ठूलो संकटविरुद्ध संघर्ष गरिरहेको बताए । कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको भन्दै उनले स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताए । सीएनआई सीईओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताए । अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

परिसंघअन्तर्गतको सीएनआई सीईओ फोरमले विभिन्न विषयमा नियमितरूपमा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूसँग सीएनआई सीईओ डाइलग सिरिज गर्दै आएको छ । परिसंघका उपाध्यक्ष एवं सीएनआई सीईओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष चौधरीको अध्यक्षतामा बिहीबार भर्चुअल विधिबाट अन्तर्क्रिया सम्पन्न भएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया