Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोनाको चेन तोड्दै भीमदत्त नगरपालिका

कोरोनाको चेन तोड्दै भीमदत्त नगरपालिका


कञ्चनपुर ।
विश्वभरमा देखापरेको कोरोना भाइरसको दोस्रो लहरमा देखिएको महामारी नियन्त्रण एव रोकथामका लागि भीमदत्त नगरपालिकाले सुरुवाती चरणदेखि विभिन्न नीतिगत एवं रक्षात्मक निर्णय गर्दै अघि बढिरहेको छ । भारतसँग मुख्य सीमा नाका जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिका जिल्लाका अन्य पालिकाभन्दा उच्च जोखिममा थियो ।

गत चैतमा भारतमा कोरोना महामारी तीव्ररूपमा फैलिसकेको अवस्थामा भारतबाट गड्डाचौकी र ब्रम्हदेव नाका भएर स्वदेश फर्किने नेपालीका कारण पनि नगरपालिका जोखिमको मूल संघारमा थियो । तैपनि भीमदत्तले आफ्ना स्रोतसाधन जनशक्ति तथा प्रदेश र संघका कार्यालय, निजी क्षेत्रसँग सहकार्य गरेर कोरोनाको चेन तोड्न सक्रिय भई लाग्यो । दोस्रो चरणको महामारीमा सबैभन्दा बढी क्षति भीमदत्त नगरपालिकाले बेहोरेको छ ।

दोस्रो चरणमा मात्रै एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । पहिलो चरणको कोरोना चेन तोड्नका लागि नगरपालिकाले २३ फागुन ०७६ देखि नेपाल प्रवेशद्वार गड्डाचौकीमा हेल्थडेस्क स्थापनाका साथै कोरोना परीक्षणको दायरा वृद्धिका लागि पीसीआर मेसिन खरिद गरेर महाकाली अस्पतालमा दिएको थियो ।

यस वर्ष पनि सीमा नाका गड्डाचोकीमा हेल्पडेस्क राखेर कोरोना भित्रिन नदिन परीक्षण गर्दै आएको भीमदत्तले हाल अस्थायी होल्डिङ सेन्टर बनाएको छ । भारतमा कोरोना महामारी देखिनासाथ त्यसको असर नेपालमा पर्नसक्ने भन्दै नगरपालिकाले १४ वैशाखमा नगरप्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बैठक बसी कोरोना रोकथाम एवं नियन्त्रणका लागि नगरप्रमुख विष्टको संयोजकत्वमा निर्देशक तथा स्वास्थ्य समिति गठन गरेको थियो ।

उक्त समिति मातहत रहेका विभिन्न उपसमिति, सहयोग समिति, समन्वय समितिहरूले महाकाली अस्तालमा अक्सिजन आपूर्ति, नगरप्रहरीलाई नेपाल प्रहरीसँग समन्वय गरेर लकडाउन प्रभावकारी बनाउने, कोरोना परीक्षण दायरा वृद्धि गराउने, सीमा क्षेत्रमा विशेषज्ञसहितका स्वास्थ्यकर्मी खटाउनुका साथै महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान, विशेषज्ञ चिकित्सकको प्रोत्साहनबापत रकम उपलब्ध गराएको छ ।

सुरुवाती चरणमा ७६ थान अक्सिजन भएको अस्पतालमा हाल तीन सय ९४ पुगेका छन् । अक्सिजन नपाएका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको थियो । हाल अक्सिजनको आपूर्तिसँगै महाकाली अस्पतालमा कोरोना संक्रमितको मृत्युदर घटेको छ । नगरपालिकाले ७० वर्षभन्दा बढीका जेष्ठ नागरिक, विपन्नलाई निःशुल्क कोरोना परीक्षण गरिरहेको छ ।

भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाप्रमुख नरेन्द्रराज जोशीले नगरप्रमुख सुरेन्द्र विष्टको निर्देशक समितिमार्फत विभिन्न उपसमिति एवं कर्मचारीले युद्धस्तरमा खटिएर कोरोनाको चेन तोड्न सफल भएको बताए । नगरस्तर समितिले वडास्तरमा समेत प्रकोप व्यवस्थापन समितिमार्फत बस्ती, गाँउ–गाँउमा स्वास्थ्यकर्मी पठाएर काम गरिने उनले बताए । ‘हामीले कोरोनासम्बन्धी परामर्शका लागि टोल फ्रि नम्बर राखेका छौँ, ‘उनले भने, ‘नागरिकका गुनासा सम्बोधन गर्दै अघि बढ्यौँ ।’

गड्डाचौकीमा अस्थायी होल्डिङ सेन्टर बनाएर भारतबाट फर्किनको कोरोना परीक्षण गर्दै पोजेटिभ देखिए अस्पताल आइसोलेसनमा राखिएको बताउँदै स्वास्थ्य प्रमुख जोशीले बाँकीलाई गन्तव्यतर्फ पठाएको बताए । मृतकका घर, सार्वजनिक क्षेत्र, कार्यालयमा निर्मूलीकण गरिएको उनले बताए । ‘दैनिक भीमदत्त नगरपालिका दुईदेखि चार जनाको मृत्यु हुँदै आएको अहिले घटेर छिटपुट एक/दुईको मात्रै मृत्यु भइरहेको छ’, उनले भने, ‘जेठ तेस्रो सातादेखि आशावादी ढङ्गबाट घटेको छ ।’

हालसम्म भीमदत्त नगरपालिका क्षेत्रमा झण्डै १२ हजारभन्दा बढी नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । भीमदत्त नगरपालिकाले आफैंले नौ हजार एक सय ७० जनालाई कोभिडसिल्ड र भेरोसिल लगाएको छ । पाँच हजार सात सय १६ जनाले कोभिसिल्ड लगाएका छन् भने तनि हजार चार सय ४४ जनाले भेरोसिल खोप लगाएका छन् ।

भीमदत्त नगरपालिका कोडिभ १९ फोकलपर्सन पंकज रावलले कोरोना रोकथामका लागि भीमदत्त नगरपालिकाले बस्तीस्तरमै गएर कोरोना परीक्षणदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनका अनुसार गड्डाचौकी नाकामा चार हजार आठ सय ९३ को एन्टिजिन प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये चार सय ८५ का कोरोना पोजेटिभ देखिएको थियो ।

भीमदत्त नगरका एक सय १७ जनामा कोरोना संक्रमितको सीमा क्षेत्रबाट ल्याएर आइसोलेसनमा राखेर उपचार गरिएको उनले बताए । नगरपालिकाले गाँउ बस्तीमै गएर एक हजार दुई सय ५० जनाको परीक्षण गरेको थियो, जसमध्ये ३६ जनामा पोजेटिभ देखिएको थियो । भीमदत्त हाल एक सय २१ होम आइसोलेसनमा छन् । यस्तै अहिलेसम्म एक सय जना नगरवासीको मृत्यु भएको छ ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले महामारीको उच्च जोखिममा रहेको नगरपालिकाले कोरोना रोकथाम एवं नियन्त्रणका लागि थुप्रै प्रयासका बाबजुत कोरोनाको चेन तोडिएको बताए । माइती नेपाल, निड्स नेपाल, एनएनएसडब्लू ए, उद्योग वाणिज्य संघ सस्था उद्योगी व्यवसायी, नागरिक समाज सबै क्षेत्रको सहयोगबाट नगरपालिकालाई थप हौसला मिलेको उनको भनाइ छ । विष्टले नगरपालिकाले कोरोना रोकथामका साथै अन्य रोग र सम्भावित तेस्रो चरणमा आउनसक्ने महामारी मध्यनजर गर्दै तयारी गरिहेको बताए ।

‘नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउने, नीति, कार्यक्रम तथा बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकता राख्छ’, उनले भने, ‘मानिसको सबैभन्दा ठूलो विषय स्वास्थ्य नै हो ।’ ‘यस पटक हामीले राहतमा जोड दिएनौँ’, ‘उनले भने, ‘एकातिर राहत वितरणमा भीडभाड हुने, अर्कातिर थप जोखिम बढ्दै जाने भएकाले श्रमसँग जोडेका छौँ ।’ आगामी दिनमा समेत सरोकारवाला सबै पक्षसँग सहकार्य गर्दै कोरोना रोकथामका लागि अघि बढ्ने मेयर विष्टले बताए । मेयर विष्टले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न समेत आम नगरवासीमा आग्रह गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया