Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘बस्ती बगाएको वर्षौँसम्म बाढीपीडितको व्यवस्थापन भएन’

‘बस्ती बगाएको वर्षौँसम्म बाढीपीडितको व्यवस्थापन भएन’


कञ्चनपुर ।
विसं २०२२ सालमा स्वर्गीय राजा महेन्द्रले कञ्चनपुरको दोधारा चाँदनीमा भारतसँग जोडिएको सीमाक्षेत्रमा बस्ती बसाल्ने योजना बनाए । राजाको योजनापश्चात् जोगबुढा नदीपारि कुतियाकबर क्षेत्रमा झण्डै डेढ सय नेपाली नागरिलाई बसाए । उक्त ठाउँमा बस्ती बसाएपछि बस्तीलाई व्यवस्थित पार्ने योजना बनाएर राजाले जिल्लाको अन्य ठाउँहरूमा पनि बस्ती बसाल्दै गए ।

२०२२ सालदेखि बसेको बस्तीलाई विसं २०४० सालमा महाकाली नदीमा आएको बाढीले विस्तापित गरिदियो । बाढीले विस्थापित गरेको बस्तीलाई अहिलेसम्म न त जोगाउने कुनै उपाय अवलम्बन गरिएको छ न त प्रयास नै । बाढीपीडितबाट ग्रसित भएका स्थानीयहरू पीडित भएको तीन दशक बढी समय बितिसक्दा पनि सरकारले व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ ।

‘बाढीपीडित भएको लामो समय भएको छ, सरकारी पक्षबाट कुनै किसिमको व्यवस्थापन गर्ने कुरा अगाडि बढेको छैन’, दोधरा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीय ऐन बहादुर सुनारले भने, ‘२०२२ सालको बसोबास हो, बीचमा बाढीले केही समस्या गरे पनि २०४० सालमा भने तीन सय बिघाबराबरको आधाभन्दा बढी गाउँ बगाएर लग्यो, बाढीले गाउँ बगाएको ३८ वर्ष हुँदासम्म बाढीपीडितको व्यवस्थापनको लागि केही पनि भएको छैन ।’ गाउँमा चुनावको बेला आउने नेतादेखि अहिलेको जनप्रतिनिधिसम्मलाई गाउँलेको समस्या थाहा छ, तर समस्या थाहा भए पनि पीडितको व्यवस्थापनबारे कुनै पक्ष अग्रसर नभएको स्थानीय सुनारको गुनासो छ ।

बाढीले आधा गाउँ बगाउने समयभन्दा अगावै कुतियाकबर क्षेत्रमा डेढ सय परिवारको बसोबास भए पनि हाल भने ३६ परिवार मात्रै बसोबास गर्दै आएका छन् । भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँका स्थानीयले सीमाको रक्षा पनि गर्ने गर्दछन् । २०४० सालयता वर्षैपिच्छे महाकाली नदी र जोगबुढा नदीले कटान गर्दै गएपछि सीमास्तम्भ पनि हराएका छन् ।

‘भारतीय सिमानासँग जोडिएर रहेको बस्तीमा वर्षैपिच्छे घरआँगनमै बाढी आएर डुबान गर्नेगर्दछ, गाउँ पूरै डुबान भएको अवस्थामा सीमा क्षेत्रमा गाडिएका सीमा स्तम्भ पनि बगेको तथा भत्किने गरेका छन्’, उनले भने, ‘बाढीले गाउँ बगाउनुभन्दा अगाडि सीमा स्तम्भ २२ र सीमा स्तम्भ २३ नम्बर सजिलै देख्न सकिन्थ्यो, बाढी आएपश्चात् २२ नम्बर हराएको छ भने, २३ नम्बर सीमा स्तम्भमा नेपाली पक्ष कुनै समयमा पनि निरीक्षण गर्ने जाँदैन ।’

भत्केको सीमा स्तम्भलाई पुनर्निमार्ण तथा भएको सीमा स्तम्भमा नेपाली पक्षले रेखरेख नगर्दा भारतीय पक्षले सीमा मिच्दै आएको छ । जसका कारण सीमा क्षेत्रमा बसोबास गर्ने कुतियाकबरवासीलाई भने समस्या भएको सुनारको भनाइ छ । कुतियाकबरबाट नगरपालिकासँग जोडिनको लागि जोगबुढा नदीमा झोलुङे पुल छ । तर झोलुङे पुल भए पनि जोगबुढा नदीलाई नियन्त्रण गर्नको लागि तीन सय मिटर मात्रै एकतर्फ तटबन्ध निर्माण गरिएको छ । जसका कारण लामो क्षेत्रफलमा तटबन्ध नहुँदा कुतियाकबर बस्ती नै जोखिममा पर्ने खतरा पनि रहेको अर्का स्थानीय टेक बहादुर सुनारले बताए ।

‘केही वर्षअगाडि विकासको नाममा कुतियाकबर क्षेत्रमा झोलुङे पुल र विद्युत्को पहुँच गरायो, तर त्योभन्दा बढी तटबन्ध निर्माणको लागि स्थानीयले आवाज उठाएको भए पनि आवाजलाई स्थिर गर्न नदीको पुल क्षेत्रमा तीन सय मिटरजति तटबन्ध निर्माण गर्ने कार्य गरियो’, सुनारले भने, ‘स्थानीयको माग तटबन्ध भए पनि तटबन्ध निर्माणमा सरकारले कुनै किसिमको ध्यान दिएको छैन, यसले गर्दा बाढीपीडित नभएको परिवार पनि बाढीपीडित हुने जोखिममा रहेको छ ।’

गाउँमा बसोबास गर्ने ३६ पविवारमध्ये आधा जति घरपरिवारको मात्रै आफ्नो जमिन रहेको छ । बाँकीको भने बाढीपीडित भएर सुकुम्बासीजस्तै अवस्था भएको स्थानीय सुनारको भनाइ छ । यसैगरी तीन दशकअघि बाढीपीडित भएका स्थानीयमध्ये कतिपयले गाउँ छोडेर अन्यत्र गएका छन् भने कतिपय नागरिक भारत पलायन भएका छन् । आफ्नो भएको जग्गा धन सम्पत्ति सबै बाढीले बगाएपछि भौतारिँदै बाढीपीडित स्थानीयले गाउँ छोड्दै गएको स्थानीय सुनारले बताए ।

बाटोमा हिँडडुल गर्न पनि भारतीय पक्षको रोक : नेपाल–भारत सिमाना आगनमा रहेको कुतियाकबरवासीलाई भारतीय पक्षले एक वर्षदेखि भोगचलन गर्दै आएको बाटोमा हिँडडुल गर्न पनि रोक लगाएको छ । भारतीय पक्षले भारतीय भूमि भएको भन्दै स्थानीयलाई हिँडडुलमा रोक लगाएको हो ।

‘स्थानीयले सीमा क्षेत्रको बाटो भनिने उक्त बाटो भारतीय तथा नेपाली पक्ष दुवैले हिँडडुलको लागि प्रयोग गर्दै आएको अवस्था थियो, अचानक भारतीय पक्षले अघिल्लो वर्षदेखि उक्त बाटो भारतीय भूमि भएको भन्दै नेपालीलाई हिँडडुल गर्न रोक लगाएको छ’, स्थानीय खड्के बुढाले भने, ‘सडकमा हिँडडुल गर्न भारतले रोक लगाएपछि हिँडडुल गर्नको लागि गाउँभित्रबाट नयाँ सडक खोलिएको अवस्था छ, सडक खोलिएको भए पनि वर्षामा हिलाम्मे तथा हिउँदमा धुलम्मे हुनेगरेको छ ।’

भारतीय पक्षले बाटोमा हिँडडुल गर्न रोक लगाएपछि सीमा क्षेत्रमा पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले समय समयमा दुःख दिने गरेका छन् । भारतीय क्षेत्रसँग जोडिएकोले पनि सामान्य सामान लिन आवातजावत गर्दा पनि बाटोमा सोधपुछ गर्ने क्रममा दुःख दिनेगरेको उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया