Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपहिरोले थुनिएको रोङ्सी खोला आंशिक रूपमा खुल्यो

पहिरोले थुनिएको रोङ्सी खोला आंशिक रूपमा खुल्यो


दोलखा ।
निरन्तर परेको वर्षाका कारण शुक्रबार राति आएको बाढी र पहिरोले थुनिएको चीनको टिंग्री काउन्टिस्थित रोङ्सी खोला आंशिकरूपमा खोलिएको छ । रोङ्सी खोला तामाकोशी नदीको सहायक नदी हो । रोङ्सी खोला थुनिएर ठूलो ताल बनेपछि शनिबार बिहानैदेखि चिनियाँ पक्षले ताल खुलाउन प्रयास गरेको थियो ।

चिनियाँ टोलीले उक्त ताल आंशिक रूपमा खुलाएको जनाएको छ । पहिरोले नदि थुनिएपछि बनेको ताल खुलाउन चिनियाँ अधिकारी र सुरक्षाकर्मीको टोली निरन्तर प्रयासमा रहेको छ । नेपाली पक्ष भने उक्त क्षेत्रमा जान नसक्ने भएकोले चिनियाँ पक्षले मात्रै ताल खुलाउन लागि परेको हो । तिब्बतस्थित टिंग्री काउन्टीका सुरक्षा प्रमुखले जिल्ला प्रशासन कार्यालय दोलखालाई सम्पर्क गरी थुनिएको नदिलाई आंशिकरूपमा खुलाइएको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त तालमा झण्डै एक लाख घनमिटर पानी जम्मा भएकाले तामाकोशी नदिको तटिए क्षेत्रमा जोखिम भने कायमै रहेको छ ।

सावधानी अपनाएर उक्त तालबाट पानीको निकास दिइएको चिनियाँ पक्षले बताएको उनले जानकारी दिए । उनका अनुसार एकै पटकमा ताल फुटाएको भए तामाकोशी नदीमा पानी बहाब उच्च हुने र ठूलो संकट आउन सक्ने थियो तर चिनियाँ पक्षसँग पटक–पटक आग्रह गरी तालबाट सुरक्षित रूपमा पानीलाई निकास दिइएको हो । ताल फुटाउने कि न फुटाउने भन्नेमा चिनियाँ पक्ष अन्योलमा परेको थियो ।

तत्कालका लागि तामाकोशी तटीय क्षेत्रमा संकट टरेको घिमिरेले बताए । यद्यपि उनले माथिल्लो भेगमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन् । रोङ्सीको निकासपछि तामाकोशी बहाबमा केही उतारचढाव आएको माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ । आयोजनाका अनुसार तामाकोशीको बहाब घट्ने र बढ्ने भइरहेको छ । रोङ्सी खोला थुनिएको सूचना पाउनसाथ जिल्ला प्रशासन कार्यलय दोलखाले शुक्रबार राति विज्ञप्ति जारी तामाकोशी नदीमा बाढी आउनसक्ने भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता अपनाउन आग्रह गरेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया