Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालथुनिएको मर्स्याङ्दी नदी बिस्तारै खुल्दैै

थुनिएको मर्स्याङ्दी नदी बिस्तारै खुल्दैै


मनाङ ।
बाढी पहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले बिस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदी पहिरो, ढुङ्गामाटो र काठदाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढी पहिरोका कारण नदी थुनिएको हो ।

उक्त स्थानमा थुनिएको नदी अहिले बिस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा परेको थियो । आइतबार सशस्त्र प्रहरी बल नं. ३२ गुल्म मनाङ र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको हो । सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर चामेबजार जाने ठूलो पक्की पुल जोगाएका हुन् ।

सशस्त्र प्रहरी बल नं.३२ गुल्म मनाङका गुल्मपति होमनाथ पन्थीका अनुसार पुल भत्काउने खतरा बढेपछि मुढा काटेर पन्छाइएको छ । यस्तै मुरेडाँडा र हुण्डेमा भने नदी आफैं खोलिएको हो । नदीमा पानीको सतह केही मात्रामा घटेको र तत्काललाई जोखिम टरे पनि सतर्कता अपनाउन मनाङवासीलाई प्रशासनले आग्रह गरेको छ । यस वर्ष मनसुनको सुरुआतसँगै मनाङमा बाढी पहिरोले ठूलो क्षति पु-याएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया