Techie IT
×
गृहपृष्ठनेपालकोरोना कहर : दोधाराका वादीको बेहाल, छाक टार्नै धौधौ !

कोरोना कहर : दोधाराका वादीको बेहाल, छाक टार्नै धौधौ !


कञ्चनपुर । विश्वभर दोस्रो चरणको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि गरिएको बन्दाबन्दीका कारण दैनिक मजदुरी गरी खाने वर्गलाई छाक टार्नै मुस्किल बन्दै गएको छ । जारी बन्दाबन्दीले काम नपाउँदा उनीहरूलाई निकै समस्या उत्पन्न भएको हो । बन्दाबन्दीले उनीहरूले दैनिक गर्दै आएको काम बन्द भएका कारण दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवला टोलका वादी घरपरिवारमा साँझ–बिहान हातमुख जोड्न समेत धौधौ परेको छ । दैनिक काम गरेर परिवार पाल्ने वादी युवा अहिले घरमै बस्न बाध्य छन् ।

बस्तीमा नाचगाना गरेर माग्न जान समेत कोरोना संक्रमणको कारण स्थानीयहरूले रोक लगाएपछि बडवाल टोलको वादी घरपरिवारलाई दैनिक गुजारा चलाउन समस्या पर्दै आएको वादी परिवारका अगुवा वीरमाने वादीले बताए । ‘बस्तीमा गएर मागीखाने काम बन्द भएपछि महिलाहरू बेलबखत गाउँबस्तीमा गएर धान रोपेर साँझ–बिहानको गुजारा चलाउने गर्ने गरेका छन्’, वादीले भने ।

बडवाल टोलमा ९ परिवार वादी रहेका छन् । जसमा झण्डै ३० जनाका संख्यामा उनीहरू बस्दै आएका छन् । उनीहरू यतिबेला जगबुडा नदीमा माछा मारेर जीविका चलाउँदै आएका छन् । बेलबखत ज्याला मजुरी गरेर समेत उनीहरूको चुलो जल्ने गरेको वीरमाने वादीले बताए । तत्कालीन माओवादी द्वन्द्वकालमा भागेर भारत छिरेका उनीहरू केही महिनाअघि मात्रै आफ्नो जग्गाको खोजीमा दोधारा चाँदनीको बडवाल टोलमा आएका थिए । उनीहरू केही महिनासम्म बडवाल टोलको एक सडकछेउमा टेन्ट लगाएर आफूहरूले छाडेर गएको जग्गा पाऊँ भन्दै स्थानीय सरकारसँग माग राख्दै आएका थिए ।

उनीहरूको मागलाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिकाले उनीहरूलाई घरबासको लागि जग्गाको व्यवस्था गरेको हो । घर बनाउने जग्गा सरकारले दिए पनि उनीहरूले घर बनाउनु त परको कुरा बिहान–बेलुका चुलो जलाउन समेत मुस्किलमा परेका छन् । उनीहरू त्रिपालमुनि जीवन गुजार्न बाध्य छन् । यही सडक भएर नेतृत्व तहमा रहेका व्यक्तिहरू आहोरदोेहोर गर्छन् । तर वादी परिवारको पीडाका बारेमा हालसम्म कसैले पनि चासो देखाएका छैनन् । सडकको छेउमै रहेको सरकारी जमीनमा उनीहरू बस्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड १५ लाख १३ हजार रकमको बजेट प्रस्ताव गरेको छ । तर बजेटमा वादी घरपरिवारको लागि कुनै व्यवस्था गरिएको छैन । उनीहरूको जीवन हावाहुरी, पानीसँगै सर्पको डर रहेको स्थानमा खानपानको चरम अभावमै दिन बित्दै आएको छ ।

उनीहरू नेपाली नागरिकता भएर पनि नेपाली नभएको आभाष गर्दै आएका छन् । गाउँ बस्तीमा पीडाका गीत सुनाएर मागीखाने वादीहरू अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । तर उनीहरूको यो जीवन जिउने रणनीति सपना मात्रै भएर आएको छ । पश्चिम नेपालमा बसोबास गर्ने वादी समुदाय दलित जातिभित्रको सीमान्तकृत समुदाय हो ।

नेपालको जनगणना २०६८ अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गरी यो समुदायको कुल जनसंख्या ३८ हजार छ । यो समुदायका नागरिक पश्चिम नेपालका विभिन्न जिल्लामा स–सानो संख्यामा बस्दै आएका छन् । १४औँ शताब्दीमा राजा रजौटाहरूको मनोरञ्जनका लागि नेपाल ल्याइएका वादी समुदायले लामो समयदेखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका हुन् ।

तत्कालीन राजा रजौटा र जमिनदारलाई मनोरञ्जन दिन वादीलाई प्रयोग गरिन्थ्यो । आधुनिकतासँगै वादी समुदायको वाद्यवादन र नाचगान पेसा छायामा पर्दै गयो । देशका विभिन्न भागमा मनोरञ्जन दिने सञ्चारमाध्यम स्थापना भएपछि उनीहरूको पेसा संकटमा परेको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया