Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजिल्लाभित्र चल्न थाले सवारीसाधन

जिल्लाभित्र चल्न थाले सवारीसाधन


दोलखा ।
दोलखामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले दुई महिनादेखि ठप्प बनेका सवारीसाधन बुधबारदेखि आंशिकरूपमा जिल्लाभित्र चल्न थालेका छन् ।

गत बैशाख २३ देखि गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दोलखाले निषेधाज्ञालाई खुकुलो बनाएको छ । यद्यपि निषेधाज्ञा भने एक साताको लागि थप गरिएको छ । प्रशासनले निषेधाज्ञाको समयमा जिल्लाभित्र मात्र जोरबिजोर प्रणाली अपनाएर सबै किसिमका यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न दिइने निर्णय गरेसँगै बुधबारदेखि जिल्लाभित्र सानाठूला सवारीसाधन चल्न थालेका हुन् । तर अन्य जिल्लाबाट सवारीसाधन आउन तथा अन्य जिल्लामा जान भने प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

बुधबार बिहानदेखि नै बोलेरो गाडी र मोटरसाइकल र केही यात्रुबाहक बस गाउँदेखि सदरमुकाम चरीकोट बजारसम्म चल्न सुरु गरेका हुन् । मंगलबारदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञाको अवधिमा पसल, व्यापार व्यवसाय, होटल, रेष्टुरेन्टलगायत सबै व्यवसाय बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

यसैगरी सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर न्यूनतम र आवश्यक कर्मचारीहरूबाट सेवा सञ्चालन गर्नुपर्नेछ । निषेधाज्ञाको समयमा शिक्षण संस्था, सभा, सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेसलगायतका मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका गतिविधि गर्न भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । भीडाभाड हुने धार्मिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलापहरू, अर्को आदेश नभएसम्मको लागि प्रतिबन्ध लगाइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया