Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल३३ मोटरसाइकल धनी जिम्मा’

३३ मोटरसाइकल धनी जिम्मा’


काठमाडौं ।
उपत्यकामा हुने सवारीसाधन चोरीका घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न खटिएको विशेष अपरेसन टोलीले जारी निषेधाज्ञाको समयमा समेत सक्रियतापूर्वक परिचालन भई चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणलाई निरन्तरता दिँदै यस अवधिमा विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाइकल मंगलबार एक कार्यक्रमका बीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाइकल र १० वटा स्कुटर रहेका छन् ।

एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले विशेष सूचना संकलन गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरू बरामद गरिएको, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाएको र अन्य मोटरसाइकलकहरू सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताए ।

चोरको आँखामा एनएस पल्सर : पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेका छन् । विशेष गरी चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरू चोरी गर्नेगरेको देखिन्छ । युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकोले पल्सर मोटरसाइकल बढी चोरी हुनेगरेको महाशाखाको बुझाइ रहेको छ ।

विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण इलाकामा लगी नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने र कतिपय अवस्थामा वास्तविक नम्बर नै प्रयोग गरेको अवस्थामा समेत फेला परेको एसएसपी भट्टराईले बताए । यसरी हराएकामध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाइकल हुनेगरेको ट्राफिक महाशाखाको तथ्यांकबाट देखिएको समेत उनले जानकारी दिए । यस आर्थिक वर्षमा मात्रै हराएका चार सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया