Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालशिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण


काठमाडौं । नेपाल उद्योग परिसंघको अगुवाइ एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ । परिसंघको कार्यालय थापाथलीमा आईतबार आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

परिसंघका अध्यक्ष सतिशकुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा अस्पताललाई ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ । परिसंघका अध्यक्ष मोरले देश संकटमा परेका बेला निजी क्षेत्र अग्रस्थानमा उभिएर आफ्नो कर्तव्य पूरा गरेको बताए । कोभिड–१९ को पहिलो र दोस्रो लहरले सिर्जना गरेको संकटमा पनि निजी क्षेत्रले आपूर्ति शृंखला सहज बनाउन सहयोग गरेको उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राडा दिव्या सिंह शाहले कोभिड–१९ को संकटपूर्ण अवस्थामा शिक्षण अस्पतालले हरतरहले सेवा प्रदान गरेको बताइन् । उनले कोभिडकै बीचमा अस्पतालमा आईसीयू र एचडीयू बेड थपिएको र थप १५ सय शय्या निर्माणको चरणमा रहेको जानकारी दिइन् ।

कार्यक्रममा प्रभु बैंकका अध्यक्ष जीवनप्रकाश सिटौलाले महामारी अझै नसकिएको भन्दै सबैले सचेत भएर काम गर्नुपर्ने बताए । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले अक्सिजन प्लान्टको नियमित सञ्चालन र आवश्यकताअनुसार मर्मतसम्भार गरी आमजनतालाई नियमित सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया