Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपर्यटन उकास्न नयाँ रणनीति आवश्यक

पर्यटन उकास्न नयाँ रणनीति आवश्यक


काठमाडौं । कोभिड–१९ का कारण थलिएको नेपालको पर्यटनलाई उकास्न नयाँ रणनीतिक ‘प्रडक्ट’ र कार्यनीति आवश्यक रहेको विभिन्न मुलुकका राजदूतहरुले बताएका छन् । उनीहरुले कोभिडको कारण थलिएको पर्यटनलाई चलायमान बनाउन नयाँ कार्यक्रम ल्याउन सुझाएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका विषयमा मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भए पनि त्यसपछिका लागि अहिलेदेखि नै तयारी आवश्यक रहेको बताएका थिए । खोपको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उनीहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकाले त्यसतर्फ ध्यान दिई प्रवर्द्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिए ।

यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकाले पर्यटक आगमनमा समस्या पर्ने गरेकाले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशिधर मिश्रले नेपालका लागि बङ्गलादेश ठूलो बजार रहे पनि सोहीअनुरूप काम हुन नसकेको बताए । बङ्गलादेशमा करिब डेढ करोड हिन्दू र ८० लाख बुद्धिष्ट जनसंख्या भएकाले केही प्रवर्द्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बङ्गलादेशबाट ठूलो संख्यामा पर्यटक नेपाल लैजान सकिने उनको भनाई थियो ।

यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको बताए । उनले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भए पनि विश्वमा अंग्रेजी नबुझ्नेको संख्या ठूलो रहेकाले स्थानीय भाषामा प्रवर्द्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिए । यस्तै भारतस्थित नेपाली दूतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकाले भारतमा थप प्रवर्द्धनात्मक कार्यक्रम आवश्यक रहेको बताईन् ।

श्रीलंकास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलंकाको लागि प्रमुख आर्कषण लुम्बिनी भए पनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने बताए । नेपालको पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका कामका सम्बन्धमा जानकारी गराउँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समूहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताए । उनले बोर्डले दूतावासहरुसँग सहकार्य गरी पर्यटन प्रवर्द्धनका काम गर्ने बताए ।

विभिन्न देशका राजदूतसँग निरन्तर छलफल गरिरहेको बोर्डले मंगलबार भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलंकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भर्चुअल अन्तक्र्रिया गरेको हो । बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवर्द्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतसँग पनि अन्तर्क्रिया सम्पन्न गरिसकेको छ ।

बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाई नेपालको पर्यटकीय छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कायम राखी प्रवर्द्धनात्मक कार्य सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका बजार व्यवस्थापक (मार्केटिङ म्यानेजर) लक्ष्मण गौतमले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया