Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविराटनगर भन्सारले जाँचपास गरेको सामानसहितको ट्र्याक्टर राजस्वको नियन्त्रणमा

विराटनगर भन्सारले जाँचपास गरेको सामानसहितको ट्र्याक्टर राजस्वको नियन्त्रणमा


विराटनगर । विराटनगर भन्सारले जाँचपास गरेको सामानसहितको ट्र्याक्टर राजस्व अनुसन्धान कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । गत आइतबार १० बजे राति कपडा र मेसिनरी सामग्री बोकेको ट्र्याक्टरलाई राजस्वको टोलीले नियन्त्रणमा लिएको हो ।

विराटनगर भन्सारले राजस्व लिएर चेकजाँच गरी छाडेको को.२ त ६८११ नम्बरको कपडा बोकेको ट्र्याक्टरमा भन्सार प्रज्ञापनपत्र नै नभएपछि राजस्वले नियन्त्रणमा लिएको थियो । उक्त ट्र्याक्टरसँगै राजस्वले भारतीय नम्बर बीआर ५० जी ५०५३ नम्बरको ट्र्याक्टर पनि विराटनगरको घाँसचोकबाट नियन्त्रणमा लिएको थियो ।

लामो समयदेखि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतदेखि कर्मचारी, भन्सार एजेन्ट र भन्सार प्रतिनिधिहरूको संस्थागत मिलेमतोमा लाखौँ रूपैयाँ राजस्व छली हुनेगरेको तथ्यलाई पछिल्लो घटनाले समेत प्रमाणित समेत गरिदिएको छ । राजस्वले गत आइतबार नियन्त्रणमा लिएको हार्डवेयर र कपडा बोकेको ट्र्याक्टरहरूको प्रज्ञापनपत्रदेखि उक्त सामानको भीसीटीएस समेत नगरी भन्सारले त्यसै छाडेको राजस्व अनुसन्धान कार्यालय इटहरीले दाबी गरेको छ ।

सरकारले मालवस्तुको ढुवानीमा राजस्व चुवाहट रोक्न भीसीटीएस (भेहिकल, कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यान्वयनमा ल्याए पनि प्रमुख भन्सार अधिकृत शिव भण्डारी, भन्सार अधिकृत निर्माण भट्टराई र भन्सार जाँचकी राजेन्द्र ढुङ्गानाको ‘सेटिङ’मा उक्त पक्राउ सवारी तथा मालवस्तुको विनाप्रविष्ट नै भन्सार जाँचपास गरेको राजस्वस्रोतले दाबी गरेको छ ।

गत ३ गते आइतबार उक्त माल चेकजाँच गराएर सेटिङअनुसार भन्सार अधिृत निर्माण भट्टराईले राजस्व बुझाउन अनुमति दिने एसएस कोड बेलुका ६ बजेपछि गरेर बैकले राजस्व बुझाउने समय समाप्त भयो भन्दै राजस्व लिन अश्विकार गरेको भन्सारस्रोतले जानकारी दिएको छ । भन्सार कार्यालयमा रहेको वाणिज्य बैंकले राजस्व बुझाउने समय बेलुका ६ सम्म मात्र रहेको जानकारी सबै भन्सार अधिकृतदेखि भन्सार एजेन्टलाई समेत गराएको अवस्थामा अधिकृत भट्टराईबाट बेलुका ६ पछि राजस्व बुझाउने अधिकारका लागि किन ६ बजेपछि मात्र प्रज्ञापनपत्रमा एसएस गरियो भन्ने गम्भीर प्रश्न अहिले उठेको रहस्य पनि भन्सारस्रोतले खोलेको छ ।

उता राजस्वस्रोतका अनुसार पक्राउ परेको सामान भन्सार हुँदै निस्किएको भए पनि भीसीटीएस पनि नगरेको अनुसन्धानबाट खुलेको छ । भन्सार बिन्दुमा न्यून मूल्यांकनमा जाँचपास गरिएको कपडा, मिल मेसिनरी, पाइप समेत रहेका दुईवटा गाडीकै विवरण भीसीटीएसमा राजस्वले नभेटाएपछि विराटनगर भन्सार कार्यालयको कार्यशैलीप्रति समेत गम्भीर प्रश्न उब्जिएको कुरा बताइएको छ ।

गत साउन २ गते शनिबारका दिन नै उक्त ट्र्याक्टर जाँचपास गरी आइतबार बिहानै भन्सार अधिकृत निर्माण भट्टराई ४५ दिन लामो बिदा लिएर बिहान १० बजे नै काठमाडौँतर्फ गएका थिए । अधिकृत भट्टराई काठमाडाँै गएका कारण उक्त सामान भन्सार परिसरबाट बाहिर निकाल्नका लागि भन्सार अधिकृतहरू अमित तिवारी र राम प्रसाद पोखरेलले अनुमति दिएका थिए । सामान पक्राउपछि अधिकृत पोखरेल पनि पछिल्लो समय १० दिन लामो बिदामा बसेको भन्सारस्रोतले जानकारी दिएको छ ।

राजस्व स्रोतका अनुसार पक्राउ परेको सामानमा प्रतिएकाइ मूल्य स्पष्ट भए पनि भन्सार कार्यालयले एक सय रूपैयाँको मूल्यांकनमा मात्रै कपडा छोडेको पाइएको छ । दुईवटा ट्र्याक्टरमध्ये एउटाको मात्रै प्रज्ञापनपत्रमा सामान लेखिएको छ । कपडा भनेर न्यून भन्सार जाँचपास गरिएको ट्र्याक्टरभित्र कपडाले छोपेर मेसिनरी आइटम, पाइप आदि रहेको अनुसन्धान कार्यालयले बताएको छ ।

भारतीय कम्पनीका उक्त कपडामा एमआरपी नै तीन सय ७९, चार सय ५० र पाँच सय ९९ रूपैयाँ मूल्य अंकित स्टीकर टाँसिए पनि विराटनगर भन्सारले एक सय रूपैयाँ मात्रै मूल्यांकन गरी सेटिङमा सामान छोडेको दाबी रहेको छ । दुई ट्र्याक्टर सामग्री ४० लाखसम्मको रहेको थाहा भएको छ । भारतबाट आयात गरेको दुई ट्र्याक्टर सामानको विराटनगर भन्सारले एक लाख २२ हजार मात्रै महशुल लिएर छोडेको बताइएको छ । जब कि ४० लाख मूल्यबराबर सामग्रीको २० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट गरेर १३ लाख २० हजार राजस्व बुझाउनुपर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको कुरा थाहा भएको छ ।

पछिल्लो समय विराटनगर भन्सारमा बढ्दै गएको राजस्व छली एवं तस्करीमा विराटनगर भन्सारकै प्रमुख भन्सार अधिकृतदेखि भन्सार अधिकृत र कर्मचारी, एजेन्ट र एजेन्टका प्रतिनिधिबीचमा हुने खतरनाक ‘सेटिङ’ बाहिरिएपछि आवश्यक कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी गरिएको जानकारी नाम नछाप्ने सर्तमा उजुरीकर्ताले दिएका छन् । पटक–पटक विराटनगर भन्सारले एउटै बिलबीजकमा दोहोरो मालवस्तु भिœयाउने र सामानको न्यून मूल्यांकन गर्नेगरेको घटना बाहिर आउँदा समेत मौन बसेको समूह यस पटक भने अख्तियारसम्म पुगेर संलग्नलाई कारबाहीका लागि हारगुहार गर्न थालेका छन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया