Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअर्थतन्त्रका हरेक क्षेत्रलाई समेटी राहत प्याकेज घोषणा गर्न सुझाव

अर्थतन्त्रका हरेक क्षेत्रलाई समेटी राहत प्याकेज घोषणा गर्न सुझाव


काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अर्थतन्त्रका हरेक क्षेत्रलाई समेटी राहत प्याकेज घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको अवस्थामा कोभिड–१९ ले अर्थतन्त्रलाई झनै शिथिल बनाएकोले यसको पुनर्गति प्रदान गर्न अर्थतन्त्रका प्रत्येक क्षेत्रमा रक्तसञ्चार हुनेगरी विशेष प्याकेजको व्यवस्था गर्न माग गरेको हो ।

राष्ट्र बैंकले आव २०७८/७९ को लागि ल्याउने मौद्रिक नीतिमार्फत पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा आदिको क्षेत्र विस्तार गरी नेपाल सरकारमा दर्ता भई सञ्चालनमा रहेका सबै उद्यम, व्यवसायले उपभोग गर्नसक्ने प्रावधान राखिनुपर्नेमा पनि महासंघले जोड दिएको छ । आयात–निर्यातको पछिल्लो अवस्थाबारे उल्लेख गर्दै महासंघले आभूषण क्षेत्रलाई प्रवर्द्धन गरी अर्थतन्त्रमा थप योगदान पु-याउने बारे सुझाव प्रस्तुत गरेको हो ।

महासंघका अनुसार राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आव २०७७/७८को ११ महिनाको तथ्यांकअनुसार समीक्षा अवधिमा देशको कुल वस्तु निर्यात एक खर्ब २१ अर्ब २५ करोड र कुल वस्तु आयात १३ खर्ब ८३ अर्व २६ करोड छ । प्रस्तुत तथ्यांकअनुसार उक्त अवधिमा कुल व्यापारघाटा १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । अर्थात् कुल वस्तु व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत र निर्यात ८ प्रतिशत रहेको छ । नेपालजस्तो सानो अर्थतन्त्र भएको राष्ट्रले यति ठूलो व्यापार असन्तुलन सामान्य तवरले थेग्न नसक्ने महासंघले जनाएको छ । परम्परागत वस्तु मात्र निर्यात र पुरानै कार्यशैलीले यो अवस्थामा सुधार आउन नसक्ने पनि महासंघले जनाएको छ ।

महासंघले निर्यात प्रवर्द्धन र व्यापार सन्तुलनमा आभूषणको क्षेत्रका महत्वपूर्ण योगदान रहेकोले यसलाई नजरअन्दान नगर्न आग्रह गरेको छ । महासंघका अनुसार यस व्यवसायले राजस्वमा मात्रै वार्षिक आठ अर्बभन्दा बढीको योगदान गरिरहेको छ । यस क्षेत्रले मुलुकको निर्यात व्यापारमा वार्षिक सरदर १५ प्रतिशतभन्दा बढीको योगदान गर्न सक्ने महासंघको दाबी छ । यति ठूलो सम्भावना रहेको आभूषण क्षेत्र हाल समस्याग्रस्त बन्दै गएको महासंघको भनाइ छ ।

अन्तरमन्त्रालय समन्वयको कमीले पनि कतिपय विषयले निकास पाउन नसकेको भन्दै महासंघले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्न आभूषण क्षेत्रको विकासमा जोड दिन आवश्यक रहेको बताएको छ । यस्तै महासंघले विगत लामो समयदेखि बहुमूल्य गहना समुद्रपार निकासी हुँदै आए पनि प्रोत्साहनको अभावमा बहुमूल्य गहनाको निकासीले अपेक्षित गति लिन नसकेको जनाएको छ । यस्तै सुनको आयातमा कोटा प्रणालीले आपूर्ति एवंं वितरणमा समस्या भएको भन्दै महासंघले उक्त व्यवस्था खारेज गर्न आग्रह गरेको छ ।

महासंघका अनुसार हाल गहना निर्माणमा विदेशी कालीगढको अत्यधिक बाहुल्यता रहेको छ । उच्च पारिश्रमिक प्राप्त हुने यस पेसामा नेपाली युवाहरूको खासै पहुँच छैन । तर उनीहरू विदेशीभूमिमा कष्टकर, फोहोरी, सस्तो र जोखिमपूर्ण क्षेत्रमा श्रम गरिरहेको पाइन्छ । यदि उनीहरूलाई नेपाली गहना उद्योगका लागि उपयोगी हुने गरी कालीगढ तालिमको व्यवस्था गरिएमा स्वदेशमा नै उच्च पारिश्रमिक प्राप्त हुने रोजगारी यस व्यवसायमा सिर्जना गर्न सकिने महासंघले भनाइ छ ।

यस्तै महासंघले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनको लागि नेपाली रत्न, पत्थरको उत्खनन्, प्रशोधन हुनु आवश्यक रहेको बताएको छ । महासंघका अनुसार नेपालको भू–गर्भमा किमति तथा अर्धकिमति धातु, रत्न, पत्थर रहेको विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । अहिले वर्षेनी करोडौँको रत्न, पत्थर आयात भइरहेकोले पनि आयात प्रतिस्थापनको लागि पनि स्वदेशी रत्न, पत्थरको उत्खनन प्रशोधन हुनु आवश्यक रहेको महासंघको भनाइ छ । एक तहको प्रशोधनपश्चात् मात्र स्वदेशी खनिजको निकासी गर्नपाउने व्यवस्था छ । तर प्रशोधन नै नगरी पूर्ण अप्रशोधित अवस्थाको खनिज अवैध किसिमले बहिर्गमन भइरहेको अध्ययनहरूले औँल्याएका छन् ।

यस्तै महासंघले नेपाली मौलिक बहुमूल्य गहनाको निर्यात प्रवर्द्धनका लागि गहना उत्पादनमा प्रयोग भएको आयातित कच्चा पदार्थमा लागेको भन्सार महशुल फिर्ता गर्ने व्यवस्था गर्न, निर्यातकर्ताले आफूलाई आवश्यक पर्ने सुन आफैँले आयात गर्न पाउने व्यवस्था गर्न, सम्बन्धित आर्थिक वर्षभित्र भुक्तानी आउनुपर्ने सर्तसहित निकासीकर्ताको जिम्मामा पछि भुक्तानी प्राप्त हुनेगरी निकासी गर्न सकिने व्यवस्था गर्न माग गरेको छ ।

यसैगरी स्वदेशी रत्न, पत्थरको प्रशोधन एवं निर्यातको लागि निजी क्षेत्रसँगको सहकार्यमा प्रशोधन केन्द्र, प्रदर्शन तथा निर्यातगृह आदि स्थापना र सञ्चालन गर्ने, स्वदेश तथा विदेशमा ज्वेलेरी एक्स्पोहरू सञ्चालन गर्ने व्यवस्था गर्न पनि महासंघले सरकारसँग माग गरेको छ । प्रतिनिधिमण्डलमा महासंघको संघीय कार्यसमितिका पदाधिकारीहरू क्रमशः प्रथम उपाध्यक्ष रामप्रसाद लकान्द्री, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव निरबहादुर धमला, कोषाध्यक्ष केशरबहादुर विश्वकर्मा, सहकोषाध्यक्ष गणेश लकान्द्री र कास सदस्य खेम तिरुवा सहभागी थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया