Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘आगामी तीन महिनाभित्र ३७ प्रतिशतलाई खोप दिन नसकेमा स्थिति भयावह हुनसक्छ’

‘आगामी तीन महिनाभित्र ३७ प्रतिशतलाई खोप दिन नसकेमा स्थिति भयावह हुनसक्छ’


काठमाडौं । आगामी तीन महिनाभित्र ३७ प्रतिशत नेपालीलाई कोरोना खोप दिन नसकेमा स्थिति भयावह हुनसक्ने विज्ञहरूले बताएका छन् । नागरिक समाजका अगुवा तथा वरिष्ठ डा. सुन्दरमणि दिक्षितले अब २÷३ महिनामा ३७ प्रतिशतलाई चाँडोभन्दा चाँडो खोप दिनसकेमा भाइरस नियन्त्रण आउने बताए । नत्र भने कोरोनाको तेस्रो भेरियन्टलाई यी खोपले काम नगर्ने उनको भनाइ छ ।

खोप खरिदमा तदारुता देखाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए । साथै उनले संसारभर कोरोना खोपको राजनीतिक र आर्थिक चलखेल भएको पनि बताए । उनले नेपालमा ल्याइएको जोनसोन एन्ड जोनसोन खोप एकदमै राम्रो हुँदाहुँदै पनि नराम्रो भन्दै हल्ला चलखेलकै कारण चलेको पनि स्पष्ट पारे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले कोरोना परीक्षण नेपालमा नगन्ने मात्रामा भएको बताए ।

उनले भने, ‘अहिलेसम्म ८, ९, १० प्रतिशत मात्र खोप दिइएको छ । संक्रमणको अवस्थाको बारेमा सरकारले चासो दिएन । यो दुःखद पक्ष हो । संक्रमण कहाँ पुग्यो, कुन अवस्थामा छ, यसबारे मनिटरिङ कसैले गरेको छैन ।’ एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले खोपबारे आफ्नो सल्लाह नसुनेको भन्दै उनले अबको सरकारले त्यसो नगर्ने विश्वास लिएको बताए । उनले १४ वर्षमाथिका व्यक्तिहरूलाई खोप दिलाउनै पर्ने बताए । सरकारले होमवर्क नगरी निषेधाज्ञा खुकुलो पार्दा पछिल्लो दिनमा ह्वात्तै संक्रमण फैलिएको उनको भनाई छ ।

डा. दिक्षितले यातायातमा मापदण्ड अपनाएको भनिए पनि कसैले निगरानी नगरेको गुनासो गरे । उनले अहिले पनि देश कोरोना जोखिमको ठूलो खतरामा परेको भन्दै निषेधाज्ञा खुकुलो पार्दै लैजानु गलत भएको टिप्पणी गरे । उनले टोल–टोलमा स्वंयसेवक राखेर निगरानी राख्न समेत सम्बद्ध निकायलाई सल्लाह दिए । उनले कोरोना संक्रमण कम गर्न मेयरलाई मनिटरिङको जिम्मा दिई नियन्त्रणमा सहभागी गराउनुपर्नेमा जोड दिए । स्थानीय निकायले जिम्मा लिनुपर्ने उनको भनाइ थियो । तेस्रो भेरियन्ट नियन्त्रणको लागि गृह र अर्थमन्त्रालयले विशेष कदम चाल्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्वनिर्देशक तथा सरूवा रोग विशेषज्ञ डा. सागरराज राजभण्डारीले नेपालमा कोरोना संक्रमितको आवश्यकताअनुसार उपचार हुन नसकेको बताए । कन्ट्याक्ट–ट्रेसिङमा परेकाको जाँच गर्न नसक्नु गल्ती हो भन्दै उनले भने, ‘गाउँ–गाउँमा छ्याप्छ्याप्ती संक्रमित रहेका छन्, चेकजाँच हुन सकेको छैन ।’ उनले तेस्रो भेरियन्टबाट १८ वर्षमुनिका र खोप नपाएका प्रभावित हुने जिकिर गरे ।

सरकारका तीन निकायबीच अझै पनि समन्वय हुन नसकेको उनको भनाइ थियो । उनले कोभिड–१९ नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको अहम् भूमिका रहने बताए । ‘नियन्त्रणको लागि प्रत्येक व्यक्तिमा आफैँ दायित्वबोध हुनुपर्छ ।’ उनले भने, ‘तीन महिनाभित्र खोप ल्याइसक्नुपर्छ ।’ उनले तोकिएको उमेरसमूहलाई खोप नदिएर आफ्ना नजिककालाई खोप दिएको समेत आरोप लगाउँदै राजभण्डारीले भने, ‘तोकिएको उमेरसमूहलाई समयमै दिनुपर्छ ।’

देश विकराल अवस्थामा छ भन्दै अझै पनि हेलचक्राइँ गरेमा आक्रामकरूपमा आइरहेको तेस्रो भेरियन्टबाट धेरै क्षति हुने उनले जिकिर गरे । सार्वजनिक स्थानमा स्वास्थ्यका मापदण्ड नअपनाएको भन्दै डा. राजभण्डारीले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरे । डेल्टा प्लस थ्री बडो आक्रामक रूपमा आउने भन्दै यसबाट अत्यधिक चाँडो संक्रमण बढ्ने उल्लेख गरे । उनले आफ्नो पालामा टेकु अस्पतालमा दुईवटा भेन्टिलेटरबाट २२ वटासम्म बनाएको बताए ।

कोभिड–१९ २/४ महिनामै जानेवाला नभएको भन्दै उनले यसबाट कसरी बच्ने त्यतातिर ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्वनिर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले कोरोना भाइरस लामो समय रहने भन्दै नेपालमै खोप उत्पादन गर्नुपर्ने बताए । ‘सरकारले वैज्ञानिकहरूको समन्वयमा कोरोना खोप नेपालमै उत्पादनतिर लाग्नुपर्छ ।’ उनले भने, ‘यो भाइरस चाँडै अन्त्य हुँदैन ।’

सरकारले आवश्यकताअनुसार चेकजाँच गर्न नसक्दा भाइरस फैलिएको भन्दै उनले भाइरसले स्पाइकको रूपमा संक्रमण बढाएर मृत्युदर बढ्दै गएको बताए । खोपको ट्रायल समयमै नेपालमै गर्न पाएकौ भए थप क्षतिबाट जोगाउन सकिने उनको भनाइ छ । उनले संकलन भएका संक्रमणका विवरण सही छन् वा छैनन् त्यो कसैले जाँच नगरेको गुनासो पोखे । नमूना परीक्षण गर्दागर्दै थप समस्या निम्तिएको भन्दै उनले नमूना परीक्षण चाँडोभन्दा चाँडो गर्नुपर्ने बताए । उनले नेपालमा भाइरसका कुन–कुन भेरियन्ट छन्, कुन बढिरहेका छन्, कुन घटिरहेका छन्, त्यसको अनुसन्धान गर्नुपर्नेमा जोड दिए । कन्ट्याक्ट–ट्रेसिङ सुनिश्चित गरेर ठाउँअनुसार लकडाउन लगाउनुपर्ने उनले बताए ।

कोरोना संक्रमण पत्ता लाग्ने पीसीआर र एन्टिजेनबाहेक अरू पनि नयाँ प्रविधिहरू आएको बताउँदै उनले नयाँ प्रविधिको प्रयोग गर्न सरकारलाई सुझाव दिए । तेस्रो भेरियन्ट नियन्त्रण खोपको लागि राजनीतिक नेतृत्वको निर्देशनबिना प्राविधिक काम अघि बढ्न नसक्ने जिकिर गरे । उनले विदेशबाट आउनेलाई विशेष निगरानी राख्नुपर्ने बताए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया