Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपरिसंघमा ७ जना उपाध्यक्ष चयन

परिसंघमा ७ जना उपाध्यक्ष चयन


काठमाडौं । नेपाल उद्योग परिसंघको उपाध्यक्षमा सात जना चयन भएका छन् । परिसंघको विधानअनुसार सात जना उपाध्यक्ष चयन गर्न पाइनेछ । परिसंघको गभर्निङ काउन्सिलले उपाध्यक्ष चयन गरेको हो । परिसंघको १८औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

परिसंघको सात उपाध्यक्षमा निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता चयन भएका छन् । मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन् । परिसंघको विधानअनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरु उपाध्यक्ष भएका हुन् । उनीहरुको शपथ ग्रहण पनि मंगलबार नै सम्पन्न भएको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणी संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिए । उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्ने उल्लेख गरे । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगीकरणका निम्ति केन्द्रित हुने बताए । औद्योगीकरणविना मुलुकको दीगो विकास असम्भव रहेको भन्दै उनले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

यसैगरी परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीतिनिर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालू आर्थिक वर्षको बजेटमा समेत महत्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत् उत्पादकबाट उद्योगले विद्युत् खरिद गर्नसक्ने तथा ’मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको बताए । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात् गरी राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिनुपर्ने बताए ।

कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद् सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल र राष्ट्रिय परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया