Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनिफ चौथो संस्करणको अवार्ड वितरण

निफ चौथो संस्करणको अवार्ड वितरण


काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको अवार्ड वितरण कार्यक्रममा सातवटा राष्ट्रिय पुरस्कार तथा नेपालले जितेको एउटा अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले वियजी चलचित्र तथा चलचित्रकर्मीहरूलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

नेपाली फिचर फिल्म प्रतियोगिताअन्तर्गत बेस्ट फिचर फिल्म अवार्ड ‘आमा खाँन्डो’ले नगद पुरस्कार एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै बेष्ट पेन्डेमिक फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’को लागि गणेश पाण्डेले नगद पचास हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी नेपाली सर्ट फिल्म प्रतियोगिताअन्तर्गत राजेशप्रसाद खत्रीको ‘अ स्केयरक्रो’ले बेस्ट सर्ट फिल्म अवार्ड नगद ५० हजार र ट्रफी प्राप्त गरेको छ । पुरस्कार वितरण कार्यक्रममा बेष्ट सिनेमाटोग्राफी नेसनल फिचर फिल्ममा शिरिस गुरुङ (लाटो कोसेरो), वेष्ट स्क्रिन प्ले नेशलन फिचर फिल्ममा सेर्गियो बासो (सरिता– टेल मि हु एम आई), बेष्ट एक्ट्रेस नेसनल फिचर फिल्ममा सरिता गिरी (लाटो कोसेरो), बेष्ट एक्टर नेसनल फिचर फिल्ममा नविन सिल्पकार (लाटो कोसेरो)लाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

अवार्ड वितरण कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले कोरोनाको कारण नेपाली चलचित्र गम्भीर अवस्था रहेको भन्दै यस क्षेत्र पुनस्र्थापना गर्न सम्पूर्ण रूपले आफू लागि परेको बताए । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नेपालको एक मात्र प्रतिनिधिमूलक अन्तर्राष्ट्रिय अवार्ड भएकोले सबै नेपाली चलचित्रकर्मी साथ दिनुपर्ने उनले बताए ।

त्यस्तै निफका संयोजक केपी पाठकले नेपाली चलचित्रकर्मीले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन देखाएको उदासिनप्रति दुखेसो पोखे । यस महोत्सव नेपाली चलचित्रकर्मीको लागि पनि महत्वपूर्ण प्लेटफर्म भएको र अन्तर्राष्ट्रिय बजारीकरणमा लागि रहेको बताए । कोरोना महामारीका कारण गत वैशाख २३ देखि २७ सम्म भर्चुअलरूपमा अवार्ड घोषणा कार्यक्रम भएको थियो । भर्चुअल रूपमा भएको कारण पुरस्कार वितरण हुन सकेको थिएन ।

‘विश्वका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आयोजना हुँदै आएको निफको पाँचौँ संस्करणको आवेदन खुला गरिएको औपचारिक रूपमा घोषणा पनि गरिएको छ । निफ डट ओआरजीबाट गत असार १७ गतेदेखि नै आवेदन खुला गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूले २०७८ पुस १० गतेसम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्नेछन् । त्यस्तै २०७८ माघ ११ गतेमा छनोट भएका चलचित्रहरूको घोषणा गरिनेछ । निफको पाँचौँ संस्करण २०७८ चैत्र १० देखि १४ गतेसम्म हुने आयोजकले बताएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया